ला लिगामा आज चार खेल

ला लिगामा आज चार खेल



बार्सिलोना । स्पेनिस ला लिगामा आज चार खेल हुँदैछ । आइतबार राति हुने खेलमा चर्चित क्लबहरु बार्सिलोना, साविक विजेता एथ्लेटिको म्याड्रिडलगायतका क्लबहरु आ–आफ्ना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले गेटाफेको सामना गर्दैछ । घरेलु मैदान क्याम्प नोउमा हुने खेल नेपाली समयअनुसार आइतबार राति पौने ९ बजे सुरु हुनेछ । बार्सिलोना दोस्रो जितको खोजीमा छ । दुई खेलबाट चार अंक बनाएको बार्सिलोना आठौं स्थानमा छ ।

यता, रेलिगेशन जोनमा रहेका गेटाफे पहिलो जितको खोजीमा हुनेछ । दुई खेल खेलिसक्दा उसले अंक जोड्न सकेको छैन । उ तालिकाको १८औं स्थानमा छ ।
ला लिगा अन्तर्गत दोस्रो खेलमा काडिज र ओसासुना भिड्दैछन् । खेल नेपाली समयअनुसार राति सवा ११ बजे सुरु हुनेछ । दुवै टोलीले अगिल्ला दुई खेल बराबरी खेलेका छन् । दुवै टोली तेस्रो खेलमा पहिलो जितको खोजीमा छन् ।

तेस्रो खेलमा रायो भालेकानोले ग्रानडाको सामना गर्दैछ । खेल सवा ११ बजे हुनेछ । घरेलु मैदानमा हुन लागेको खेलमा रायो भालेकानोलाईलाई रेलिगेशन जोनबाट बच्ने अवसर रहेको छ । अघिल्लो दुई खेलमा पराजित भालेकानो तालिकाको १९औं स्थानमा छ ।

यता, ग्रानडालाईसमेत पहिलो जितको खोजीमा हुनेछ । यस अघिका दुवै खेलमा अंक बाँडेको ग्रानडासँग २ अंक रहेको छ । ऊ १०औं स्थानमा छ ।

यस्तै ला लिगाको आइतबारको अन्तिम तथा चौथो खेलमा साविक विजेता एथ्लेटिको म्याड्रिड र भिल्लारियलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ ।

घरेलु टोली एथ्लेटिकोलाई खेल जित्दै शीर्षस्थानमा फर्कने मौका रहेको छ । एक खेल कम खेलेको एथ्लेटिको ६ अंकसहित पाँचौँ स्थानमा छ ।
यता, भिल्लारियल भने पहिलो जितको खोजीमा रहेको छ । दुई खेलबाट दुई अंक जोडेको भिल्लारियल तालिकाको १२औं स्थानमा छ ।