December 06, 2021 मंसिर २० , २०७८

भुटानी शरणार्थी शिविरमा अमेरिकी दूतावासको टोली

भुटानी शरणार्थी शिविरमा अमेरिकी दूतावासको टोली

झापा । विकल्पविहीन जिन्दगी बिताइरहेका भुटानी शरणार्थी शिविरको अनुगमनमा नेपालस्थित अमेरिकी दूतावासको टोली आएको छ । भुटानी शरणार्थीलाई हेर्दै आएको दातृनिकाय शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)को दमक कार्यालय बन्द भएको एक वर्षपछि केही दिनअघि टोली दमक र पथरीशनिश्चरेमा रहेको शिविरमा आएको हो ।

दुईवटा शिविरमा रहेका ६ हजार चार जना भुटानी शरणार्थीको अवस्था बुझ्न दूतावासका राजनीतिक अधिकारी साल्भाडोर मोलिना र दूतावासका सहजकर्ता पेमा तेन्जिङ आएका हुन् । सन् २०२० को अन्त्यसँगै युएनएचसिआरको कार्यालय बन्द भएपछि भुटानी शरणार्थी विकल्पविहीन जिन्दगी बिताइरहेका थिए । तेस्रो देश पुनर्वासकाे प्रक्रिया बन्द भएपछि शिविरमा कतिपय आफन्त पारिवारिक पुनर्मिलनको पर्खाइमा छन् ।

एक लाख १३ हजार बढी भुटानी शरणार्थी विभिन्न देशमा पुनर्वास भएपछि ९५ प्रतिशत भुटानी शरणार्थीको समस्या समाधान भएको भन्दै युएनएचसिआरले आफ्नो दमकस्थित कार्यालय बन्द भएको थियो ।

युएनएचसिआरको कार्यालय बन्द भएपछि भुटानी शरणार्थीको अवस्थाबारे जानकारी लिन दूतावासको टोली आएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । ‘भुटानी शरणार्थीको अवस्था के छ ? उनीहरू कसरी गुजारा गरिरहेका छन् भनेर जानकारी लिन आउनुभएको हो,’ उनले भने ।
शिविरमा रहेका केही अझै पुनर्वास् प्रक्रियामा रहेर आफ्ना आफन्त भेट्न चाहने शनिश्चरे शिविर व्यवस्थापन सचिव चम्पासिंह राई बताउँछन् । यस्तै, केही शरणार्थी भुटान फर्कन चहाने र केही नेपालमै स्थानीयकरण हुन चहाने रहेको उनले बताए । दूतावासको टोलीलाई यी समस्याबारे जानकारी गराइएको सचिव राईको भनाइ छ । ‘हामीले शिविरमा भएका समस्या दूतावासको टोलीलाई बतायौँ । सधैँ समस्या त राखेकै छौँ,’ उनले भने, ‘काम गर्ने नेपाल सरकारले हो । नेपाल सरकारले नै चासो नदेखाएपछि के नै हुन्छ र !’

जवाफमा राजनीतिक अधिकारी मोलिनाले भुटानी शरणार्थीको समस्याप्रति संवेशदनशील रहेको बताएका थिए । उनले दूतावासले समस्या समाधानमा चासो देखाइरहेको बताएको शविर सचिव राईले बताए । प्रतिक्रियामा अमेरिकी दूतावासको टोलीले नेपालको राजनीतिक अवस्था अस्थिर रहेकाले समाधानका लागि कुनै प्रक्रिया अघि बढ्न नसकेको बताएका थिए । ‘उहाँहरूले ठाउँमा कुरा गर्छौँ भन्नु भएको छ । तर, नेपालको राजनीतिक अस्थिरताका कारण समस्या समाधानको प्रक्रिया अघि बढ्न नसकेको बताउनुभयो,’ राईले भने, ‘पारिवारिक पुनर्मिलनका लागि एकपटक तेस्रो देश पुनर्वास्, स्वदेश फिर्ती र स्थानीयकरणका लागि पहल गर्ने बताउनुभएको छ । दूतावास भुटानी शरणार्थीको समस्यामा संवेदनशील भएको उहाँहरूको भनाइ थियो ।’

शरणार्थी समस्यालाई लथालिङ अवस्थामा दातृ निकायले छाडेपछि भुटानी शरणार्थी समस्यामा छन् । यो समयमा दूतावासको टोली आएपछि भुटानी शरणार्थी निकै आशावादी थिए । तर, टोली प्रतिक्रियाविहीन भएको भन्दै उनीहरू निराश भएका छन् । ‘शिविरमा आएको दूतावासको टोलीले जीविको पार्जनका लागि काम गरिरहेकालाई काम कस्तो छ भनेर मात्र सोधे । हामीले हाम्रो समस्या राख्यौँ । तर, त्यसमा उहाँहरूको प्रतिक्रिया खासै रहेन,’ भुटानी शरणार्थी अपांग संघ अध्यक्ष देवीमाया गुरुङले भनिन्,‘दूतावासको टोली आउँदा निकै खुसी लागेको थियो । तर, उहाँहरूले केही नभन्दा निरास भएका छौँ ।’

शिविरमा विभिन्न कारणले दर्ता हुन छुटेका अझै करिब १६ सय भुटानी शरणार्थी छन् । उनीहरूको जीवन झनै अन्योलमा छ । यस्तो अवस्थामा आएको अमेरिकी दूतावासको टोलीसँग ठूलो अपेक्षा रहेको शरणार्थी शिविरका पूर्वसचिव युवराज राई बताउँछन् । दातृ नकायले छाडेपछि भुटानी शरणार्थीहरूको शिक्षा र स्वास्थ्य स्थानीय तहले गर्दै आएका छन् । आफन्त पुनर्वासमा गएर पारिवारिक विखण्डनमा रहेका वृद्धवृद्धालाई भने अहिले समस्या भएको छ । भुटान फर्कने आशमा शिविरमा रहेका वृद्धवृद्धा अहिले खान बनाएर पनि खान नसक्ने अवस्थामा पुगेको शरणार्थी वृद्ध शन्तवीर घले बताउँछन् । ‘स्वदेश फर्कने आशमा छोराछोरीसँग अमेरिका गइन । तर, दातृ निकायले पनि छाड्यो । अब त स्वदेश फर्कने आश पनि हरायो,’ उनी भन्छन्, ‘मजस्ता वृद्धवृद्धा खाना बनाएर पनि खान सक्ने अवस्थामा छैनन् । तर, के गर्ने र जसोतासो गरेर खानै परेको छ ।’

दर्ताविहीन भुटानी शरणार्थी झन् समस्यामा छन् । दर्ताको समयमा कामको शिलशिलामा शिविरभन्दा बाहिर गएका कारण दर्तामा छुटेकाको अधिकांश आफन्त तेस्रो देश छन् । उनीहरू यहाँ परिचयविही नभएर बस्नुपरेको छ । दर्ता भएकाको सन्दर्भमा राज्यले समस्या समाधान गर्दा समावेश हुने तर, दर्ता नभएकाहरू फेरि पनि छुट्न सक्ने भएकाले वास्तविक शरणार्थीका लागि तत्काल दर्ता प्रक्रिया अघि बढाउनुपर्ने भुटानी शरणार्थी शिविर शनिश्चरेका क्याम्प व्यवस्थापन समिति सचिव चम्पासिंह राई बताउँछन् ।