काठमाडौं । आज कृष्णजन्माअष्टमी अर्थात सुदूरपश्चिमेलीहरुको महान चाड गाैरा पर्वको अन्तिम दिन । यस दिन गौराको पूजाआजा गरी मनाइन्छ । सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार मनाउने चलन छ ।
भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौरा पर्वको अन्तिम दिन आज अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ ।
भदौ शुक्ल पञ्चमीका दिन माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती)को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मङ्गल गीतसँगै घरमा ल्याएर राख्ने गर्छन् । विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन छ ।
महिलाहरुले व्रत बसेर तामाको भाँडामा भिजाएका बिरुडा षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा गरी विवाहित महिलाहरुले दुवधागो चढाउने चलन छ । सप्तमीका दिन महिलाले दिनभरि बर्त बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत छ ।
सात गाँठो पारिएको दुवासहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राखिन्छ । अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाँच्ने गर्दछन् ।
गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई प्रसादका रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने गरिएको छ । गौरा पूजा गरिसकेपछि झाँकीसहित पञ्च वनस्पतिबाट बनाइएको गौराको प्रतिमालाई झाँकीसहित विसर्जन गरिन्छ । गौरा पर्वमा नयाँ कपडा लगाउनाका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता शाकाहारी पकवान खाने गरिन्छ ।
यो पर्व सुदूरपश्चिमसहित भारतको कुमाँउ र गढवाल क्षेत्रमासमेत विशेष महत्वका साथ मनाइने गरिन्छ । गौराका फागमा पूर्वीय मान्यता अनुरूपको वैदिक सामाजिक परम्परामा पाइने मानवीय गतिविधिको चित्रण मनग्य रूपमा पाइन्छन् । जेठी गौरा र महेश्वरलाई भित्र्याएदेखि पूजा शुरु हुने अवधिसम्म सबै व्रतालु पूजा गरिने घरमा जम्मा हुन्छन् । दिनभरि व्रत बसेर रातिमात्र खाना खाने यस दिनका व्रतालुहरू भोजनोपरान्त फेरि गौरा राखिएको घरमा भेला हुन्छन् ।
महिलाले गाउने मांगल गीत
उगाण उगाण इजू रूपाइका दुवार
उगाण उगाण इजू सुनैका केवाड
गावको मजेली इजू बत्ती जगाइदिया
आजको दिन नाच इजु रनझनिया
इति क्या उजालो भयो रनझनिया
कि त बाबु लोली गौरा रनझनिया
तम घर आइन कि हो रनझनिया
तिर्तियैका दिन इजू बिरुडी खोजाया
चौथियैका दिन इजू बिरुडी निकेया
पञ्चमीका दिन इजू बिरुडी भिजाया
षष्ठीका दिन इजु बिरुडी धोएया
सप्तमीका दिन इजू म माइत बोलाय
आरती, अवतार गीत, सृष्टि गीत, सगुन र फागजस्ता गीत गाउँदा पूजनस्थलमा एउटा छेउ वा सम्बन्धित देवीदेवताको मूर्ति वा मण्डपमा चारैतिर फिंजिएर बसी अथवा उभिएर सामूहिक रूपको स्वरलहरी फिंजाइन्छ । यस प्रकारका गीतमा नृत्यचाहिँ हुँदैन । धमारी, चैत, भोलाउलो प्रायः पुरुष समूहले गाउने गीत हो ।
अर्को दिन अर्थात् भाद्र शुक्ल वा कृष्ण अष्टमीका दिन बिहान स्नानध्यान गरी, घर आँगनको सफाइ, दैलोको लिपपोत र द्वारपूजन समाप्त गरेपछि गौरा महेश्वरको प्रातःकालीन पूजा व्रतालुद्वारा संयुक्तरूपमा गरिन्छ । फरक के देखिन्छ भने हिजोको सामालाई जेठी गौरा वा लोली गौरा भनिएको थियो । आजको सामालाई कान्छी गौरा वा सन्जा गौरा अर्थात् कान्छी गौरा भनिन्छ ।
आजकी गौरा ल्याउनु भनेको जेठी पत्नीको कुरा र व्यवहार नरुचाएर भगवान् शङ्करले मलयागिरि पर्वतबाट कान्छी पत्नी बिहे गरेर ल्याउनु हो । जेठी गौराको मेख मार्न अर्को बिहे गरेर घर फर्केका महेश्वर सुरुवाल भिजिसक्दा र छाता फाटिसक्दा पनि ढोका नखोलिएकोमा रिसाएर काम नचल्ने तथा दुलहा भएका बेला रिसाउनु कराउनु उचित नहुने देखेपछि बाहिरबाटै जेठी गौरालाई दुःख नदिने, पटरानीको पदमै राख्ने, माया गर्ने, राजपाटको जिम्मेवारी दिने, दरबारका साँचाताल्चा उनीबाट नखोस्ने, धनसम्पत्तिको जिम्मा दिने, हर्ताकर्ताको प्रमुख बनाउनेजस्ता आश्वासन दिन्छन् र सोका लागि वाचाबद्ध पनि हुन्छन् ।
त्यसपछि दुवै गौराको सामा एउटैमा मिसाइन्छ । यस बखत पनि एउटा छुट्टै फाग गाइन्छ । जेठी र कान्छी गौरालाई मिलाएर एउटै गौरा पारिसकेपछि पूजाको क्रम शुरु हुन्छ । सती र पार्वती शारीरिक दृष्टिले भिन्नभिन्न भए पनि आत्मिक हिसाबले एकै हुन् भन्ने अर्थ एउटै गौरा बनाउने यस चलनले प्रकट गर्छ । गौरापूजाका लागि विवाहोपरान्त नारीले सुन्नुपर्ने र दिनहुँ साँझबिहान जप्नुपर्ने मन्त्र विधिवत् गुरुस्थापना गरी यसै पर्वमा वा कुनै शुभ दिनमा सुनिसकेको हुनुपर्छ ।
प्रायः यसै पर्वका अवसरमा सासू, जेठानी, आमाजू, फुपू सासूजस्ता मान्य व्यक्तिबाट उक्त मन्त्र सुन्ने गरेको देखिन्छ । यस्तै दुबोधागोको चलन यस पर्वमा देखिने अर्को रोचक कुरा के हो भने रक्षा बन्धनका दिन बाहुन क्षेत्रीय पुरुषले नयाँ जनै फेरेझैं यस पर्वका अन्तमा व्रत गर्ने नारी घाँटीमा बाँध्ने धागो फेर्छन् । यसलाई दुबोधागो भनिन्छ । रातो, पहेंलो र कालो धागोबाट बनाइएको यो सामान्यतया पोतेजस्तै देखिन्छ ।
गौरी महेश्वरको पूजा गर्ने बाहुन र क्षेत्रीका विवाहिता र सधवा नारीहरूका लागि शुरु हुने यो पर्व केवल तिनीहरूमै सीमित हुँदैन । नाचगान र खुसी उमङ्गद्वारा प्रफुल्लित तुल्याउन यस पर्वले सबै जातका महिला, पुरुष तथा केटाकेटीलाई बराबर रूपमा समेटेको हुन्छ । व्रत र पूजाआजा बाहुन तथा ठकुरीका विवाहित सधवाले मात्र गरे पनि महिलाको समूहमा गौरा राखिएको घरका आँगनमा राति गाइने गीत सबै जातका नारीको सहभागितामा गाइन्छन् ।
गौरामा देउडा
पुरूषहरू भने गौरामा देउडा खेल्ने चलन छ । सबै पुरूषले यसदिन गौरा हुने ठाउँ (गौरा खलो) मा टेक्न अनिवार्य जस्तै हुने स्थानीय बताउँछन् । त्यही दिनबाट पुरूषहरूले पनि खेल, चैतालो, धुमारी, देउडा खेल्छन् । समूहमा मिलेर खेल र चैतालोमा बिभिन्न देवीदेउताका कथा, धार्मिक तथा सांस्कृतिक इतिहास गीतका रूपमा गाउने चलन छ । अठेवालीका दिनबाट लगातार एक सातासम्म पालैपालो गाउँ गाउँ पुगेर खेल्छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य एवं देउडा गायक यज्ञराज उपाध्याय काली कर्णाली क्षेत्रमा देउडा कुनै एक चाडपर्व विषेश मात्र नभएर सिंगो संकृति भएको बताउछन् । कृष्णजन्माअष्टमी अर्थात गौरा पर्वदेखि चाडपर्वहरु सुरु हुने भएकाले गौरासँगै हरेक चाडपर्वमा देउडा खेल्ने प्रचलन रहिआएको उपाध्याय सुनाउछन् । ‘लोक संस्कृतिको एक भाग देउडा पनि हो । समुहमा होस् या एकल हुँदा पनि मनमनै देउडा गीत गुनगुनाएर गाउने प्रचलन छ ।’
उपाध्याय भन्छन्,‘बिभिन्न चाडपर्वहरु आ–आफ्नै विधि प्रक्रियाअनुसार मनाइन्छ तर अन्तिममा रमाइलोका लागि अनिवार्य देउडा खेलिन्छ ।’ सामाजिक उत्पिडन, सामाजिक जनजिविका, भोगाई, पुरातात्विक महत्व, माया प्रेमका कुराहरु देउडाको माध्ययमबाट व्यक्त गरिन्छ । आजबाट पश्चिममा बिभिन्न चाडपर्व, मेलाहरु सुरु हुन्छन् र सबै मेला पर्वहरुमा देउडा खेल्ने प्रचलन छ । दुख पीडा भुलेर रमाउने पहिलो माध्यम नै देउडा भएको उपाध्याय सुनाउछन् । देउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य प्रदान गीत हो ।
यस गीतमा गरिएको नृत्यलाई डेउडा खेल अथवा न्याउले खेल भनिन्छ । यो गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ । स्थानीय भाषिकाहरूमा सृजित भई लोकप्रियता कमाएको डेउडाले यस क्षेत्र भन्दा बाहिर पनि आफ्नो प्रभाव छोडेको छ । डेउडा खेल र गायनको प्रक्रिया यस क्षेत्रमा खास गरेर दसैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह, आदीमा प्रस्तुत गरिन्छ ।
यस गीतलाई एकल रूपमा पनि गाउन सकिन्छ । नृत्यसँग डेढ कदम उचालेर गोलो घेरा बनाइ प्रस्तुत गरिने भएकाले यस गीतलाई डेउडा नामकरण गरिएको मानिन्छ । संस्कृत भाषाको देउंदुराय शब्दबाट देउदुरा हुँदै डेउडा शब्द बनेको हो भन्ने पनि छ । डेउडा गीतमा वैयक्तिक जीवनका विभिन्न पक्षहरूलाई उद्धघाटित गरिएको हुन्छ ।
मान्छेको जीवनमा आउने सुख दुःखका अनुभुती र मिलन बिछोडको पक्षलाई डेउडाले सङ्केत गरेको हुन्छ । कोरोनाका कारण पछिल्लो दुई वर्षमा समूहमा देउडा खेल्न छुटेको छ । गौराको दिन सुदूरपश्चिममा मात्र नभएर देश तथा विदेशमा बस्ने सुदूरपश्चिमेलीहरुले देउडा खेल्ने गर्दछन् ।
प्रतिक्रिया