बार्सिलोनाले मेस्सीको पोस्टर हटायो

बार्सिलोनाले मेस्सीको पोस्टर हटायो



एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले पूर्व कप्तान लियोनेल मेस्सीको पोस्टर हटाएको छ । मेस्सीले बार्सिलोना छाडेसँगै घरेलु मैदान क्याम्प नोउमा रहेको मेस्सीको पोस्टर उक्काइएको छ । ३४ वर्षीय मेस्सीले गत आइतबार सम्बोधन गर्दै बार्सिलोनाबाट बिदाई लिएका थिए । त्यसअघि गत बिहीबार बार्सिलोनाले लिगको नियमको आधारमा मेस्सीलाई सम्झौता गर्न नसक्ने बताएपछि बार्सिलोनामा मेस्सी युगको अन्त्य भएको थियो ।

२१ वर्ष क्लबमा बिताएका मेस्सीले १७ सिजन बार्सिलोनाको सिनियर टोलीबाट खेलेका थिए । स्पेनिस ला लिगाको वित्तीय संरचनाको कानुनी अड्चनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए । मेस्सी १३ वर्षको उमेरमा सन् २००० मा क्याटलान क्लबको एकेडेमी ला मासियामा आएका थिए । त्यसको चार वर्षपछि नै उनी १६ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीमा पर्न सफल भए । २१ वर्ष बार्सिलोनामा रहँदा १७ वर्षको व्यवसायिक करियरमा ३४ वर्षीय मेस्सीले थुप्रै उपाधिसँगै कीर्तिमानहरु रचेका छन् ।

मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच दुई वर्षको लागि सम्झौता भएको बुझिएको छ । उनी मंगलबार पेरिस पुगिसकेका छन् । सम्भवत पीएसजीले आजै नै उनलाई सार्वजनिक गर्नेछन् ।