गुल्सन झा पहिलोपटक राष्ट्रिय टिममा, नेपाली टोली मंगलबार ओमान जाने

गुल्सन झा पहिलोपटक राष्ट्रिय टिममा, नेपाली टोली मंगलबार ओमान जाने



काठमाडौँ । विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने एकदिवसीय त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी ( पिएननी)सँग हुने खेलका लागि नेपाली टिमको घोषणा भएको छ ।
शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको नामावलीमा गुल्सन झासहित चार नयाँ अनुहार परेका छन् ।

काठमाडौंमा भएको मेयर्स कपपछि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले चार खेलाडीलाई मौका दिएका हुन् । गुल्सनसँगै कुशल भुर्तेल, आशिफ शेखले पनि पहिलोपटक एक दिवसीय टिममा मौका पाएका छन् ।

मंगलबार १७ खेलाडी पाँच अफिसियलसहित २२ सदस्यीय टोली ओमान भ्रमणमा जानेछन् । जसमा यसअघि क्याम्पमा रहेका १९ खेलाडीमा कमलसिंह ऐरी र साहव आलमले स्थान बनाउन सकेनन् ।

नेपाल टोलीको कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन् । नियमित खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएपछि गुल्सनले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट खेल्ने गुल्सन पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन।

नेपालमा नै भएको थ्री नेसन्स कपमा उत्कृष्ट प्रदर्शन गरेका कुशल भुर्तेल र आशिफ शेखले एकदिवसीय टिममा स्थान बनाएका हुन ।नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग दुईवटा एकदिवसिय सिरिज खेल्नेछ, जुन ५ र ८ सेप्टेम्बरमा हुनेछन् ।

त्यसपछि नेपाली टिमले त्रिकोणात्मक सिरिज अन्तर्गत ओमान र अमेरिकासँग सिरिज खेल्नेछ । यसपटकको टिममा रोहित पौडेल, शरद भेषवाकर, विक्रम सोब र सोमपाल कामी टिममा फर्किएका छन ।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुल्सन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकार र विक्रम सोव