नेपाली चेलीको अमेरिकी राजदूत बेरीद्वारा प्रशंसा

नेपाली चेलीको अमेरिकी राजदूत बेरीद्वारा प्रशंसा



काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत र्याण्डी बेरीले नेपाली चेली डा. विष्णुमाया परियारको खुलेर प्रशंसा गरेका छन । डा. परियार दुनियाँलाई प्रोत्साहित गर्ने पात्र भएको भन्दै राजदुत बेरीले सामाजिक सञ्जाल ट्विटरमा प्रशंसा गरेका हुन ।

डा.विष्णुमाया परियारसंग सन २०१९ मा भेट्ने अवसर प्राप्त भएको स्मरण गर्दै राजदुत बेरीले ट्विट गरेका छन, ‘उनको कामले समावेशी र समानताका लागि सबैलाई प्रेरित गरेको छ ।’

सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइण्डसेट’ पुस्तकमा डा परियारको जीवन सङ्घर्षको कहानी प्रकाशित भएको छ ।

उक्त पुस्तकका ६९२ पृष्ठमध्ये डा परियारको संघर्ष र प्रेरणाको कथा पृष्ठ ५९१–५९४ बीच चार पृष्ठमा छापिएको छ ।

विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेशनको पाठ्यपुस्तक अमेरिकामा मात्र नभै विश्वका सयभन्दा बढी मुलुकका हाइस्कूल, कलेज र विश्वविद्यालयहरुमा पढाइ हुन्छ ।