ओखलढुंगामा सभापतिमा चार नेताको दाबी, दुईको उम्मेदवारी घोषणा

ओखलढुंगामा सभापतिमा चार नेताको दाबी, दुईको उम्मेदवारी घोषणा



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको पहिलो चरणमा शुक्रबार जिल्लाका ७५ वटै वडामा अधिवेशन सुरु भएको छ । सहमति हुँदा आजै र निर्वाचन भएमा २१ गतेसम्ममा सबै वडामा पदाधिकारीसँगै क्षेत्रीय प्रतिनिधिसमेत चयन भइसक्नेछन् ।

नेपाली कांग्रेसका युवा नेता सन्तोष दाहालका अनुसार धेरैजसो वडाहरूमा सर्वसम्मत पदाधिकारी तथा प्रतिनिधि चयन हुनेछन् । ‘कोभिडका कारण पनि सबै क्रियाशील सदस्य सहभागी हुने अवस्था नहुँदा विगतको जस्तो रस्साकस्सी छैन’, बरुणेश्वरको वडा अधिवेशनमा सहभागी दाहालले भने, ‘सधैँ निर्वाचन हुने रामपुरमा समेत सहमति हुँदै छ, सबैजसोमा यस पटक सहमति हुन्छ ।’

धेरैजसो क्रियाशील सदस्यको चाहना वडाको पदाधिकारी भएर काम गर्ने भन्दा प्रतिनिधि गएर जिल्लाको निर्वाचनमा नेताको नजिक हुने तथा कसैलाई हराउने, कसैलाई जिताउने अभियानमा सहभागी हुन पाइने भएकाले त्यता पनि ध्यान गएको छ ।

खनाल र दाहालको उम्मेदवारी घोषणा

जिल्ला सभापतिमा दुई नेताले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान उपसभापति तेजेन्द्र खनाल र यसअघिको महाधिवेशनमा पराजित बालकृष्ण दाहालले उम्मेदवारी घोषणा गरेका हुन् । उनीहरूमध्ये खनाल जिल्ला सभापति प्रदीपकुमार सुनुवारको समर्थनमा देउवा समूहका उम्मेदवार हुन् भने दाहाल पौडेल समुहका नेता हुन् । खनाल जिल्लामा बसेर कार्यकर्तासँग भिजेका इमान्दार नेताका रूपमा परिचित छन् भने दाहाल यसअघि पराजित पौडेल-कोइरालालगायतका नेताहरूसँग निकट नेता हुन् । दाहाल पनि आर्थिक रूपमा विवादमा नपरेका नेता हुन् । दुवैले सादगी नेताको छवि बनाएका छन् ।

पौडेल-कोइराला समूहबीचको कलहले यसअघिका दुई जिल्ला अधिवेशनमा देउवा समूहका प्रदीपकुमार सुनुवार सभापित निर्वाचित भएका थिए । अहिले नेतृत्व हातमा लिन यो समूहले दाहाललाई अघि सारेर आसपी विवाद समाधान गरेर अघि बढ्ने तयारी गरेको छ । उता, दुई कार्यकाल निर्वाचन जितेर जिल्ला हाँकेका सुनुवारसहितका नेताको साथ भने खनाललाई छ ।

सभापतिमा अरू दुई नेताको पनि दाबी छ । विभिन्न संचार माध्यममा सभापतिको दाबी गरे पनि क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको अवस्था हेरेर उनीहरूको उम्मेदवारी घोषणा हुन सक्ने कांग्रेस कार्यकर्ताहरू बताउँछन् । अहिले उनीहरूले सभापतिको दाबी गरे पनि कार्यकर्ता माझ निर्वाचनमा जाने घोषणा गरेका छैनन् ।

वर्तमान सचिव रुद्रप्रसाद अधिकारी र महासमिति सदस्य कुमार लुइँटेलले पनि सभापति दाबी गरेका छन् । अधिकारी पूर्वसांसद रामहरि खतिवडा निकट हुन् भने लुइँटेल गगन थापा नजिक मानिन्छन् । दुवैले सभापतिको दाबी गरे पनि चुनावमा भने उनीहरू उठ्ने सम्भावना कम भएको उनीहरू निकट नेता, कार्यकर्ता बताउँछन् । एक जिल्ला समिति सदस्यले भने उनीहरूले पद सुनिश्चितताका लागि सभापतिको हल्ला चलाएको तर्क गरे । उनले भने, ‘उनीहरूको दाबेदारी पद सुनिश्चित गर्ने मात्र हो, दुवैका आँखा आगामी निर्वाचनमा प्रदेशसभाको टिकटमा छन् ।’

ती नेताका अनुसार अन्तमा गगन थापा पौडेल क्याम्पमा आएकाले लुइँटेलको समर्थन त्यतै हुने र अधिकारीले पूर्वसांसद खतिवडाको पोजिसन हेरेर निणर्य गर्छन् । त्यसो हुँदा सभापतिमा संस्थापन पक्षबाट खनाल र पौडेल समूहबाट दाहालका बीचमा चुनाव हुने परिस्थिति छ ।

खतिवडा संस्थापन समूह निकट भए पनि अहिले खनाल र दाहाल दुवैलाई खुलेर समर्थन गरेका छैनन् । खतिवडासहित अर्का जिल्ला सचिव नवराज केसी, पुराना नेता दानबहादुर बानियाँ, जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठ, पुराना नेता अशोक कार्कीलगायतले कता साथ दिन्छन्, त्यतै पल्ला भारी हुने अवस्था छ ।

सचिवका दाबेदार धेरै

जिल्ला सचिवका लागि पनि धेरै नेताले आकांक्षा देखाएका छन् । सबै आकांक्षीहरू भने युवा पुस्ताका छन् । राजकुमार ढुंगाना, अजय लुइँटेल, राजाबाबु किराती, विनोद केसी, भोजकुमार श्रेष्ठलगायतको नाम सचिवका लागि चर्चामा छ ।

प्रदेशसभा (क)को सभापतिमा सन्तोषबाबु थापा र होमबहादुर कार्कीले दाबी गरेका छन् । (ख)को सभापतिमा भीमप्रसाद गौतम, आस्राचन राई र आशोक राईले दाबी गरेका छन् ।