सीमा विवादबारे चीनकाे यस्तो आयो प्रतिक्रिया

सीमा विवादबारे चीनकाे यस्तो आयो प्रतिक्रिया



काठमाडौं । सरकारले समिति गठन गरेसँगै काठमाडौंस्थित चिनियाँ दूतावासले चीन र नेपालबीच सीमा विवाद नरहेको दोहोर्याएको छ। सरकारले हुम्ला जिल्लामा नेपाल–चीन सीमा क्षेत्रमा समस्या देखिएको भन्दै अध्ययन गर्न गृहमन्त्रालयका सहसचिव नेतृत्वमा टोली गठन गर्ने निर्णय गरेको थियो ।

त्यसको तीन दिनपछि चिनियाँ दूतावासका प्रवक्ता वाङ याओलोङले दुई देशको सीमा विवादमुक्त रहेको बताएका हुन्। केही व्यक्तिगत शक्तिले पहिले चीन–नेपाल कथित सीमा विवादलाई उचाल्न खोजेको तर नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् यसबारेमा स्पष्ट पारिसकेको चिनियाँ दुतावासको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले बनाएको समितिलाई नोटमा लिएको जनाउँदै विज्ञप्तीमा चीन र नेपालले सधैँ एक अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सम्मान गरेको उल्लेख गरिएको छ ।

दुई देशले सन् १९६० मै सीमाका विषयहरु मैत्रीपूर्ण छलफलद्वारा सुल्झाएको र त्यसयता कुनै विवाद नरहेको विज्ञप्तीमा उल्लेख छ । चीन र नेपालले सीमा व्यवस्थापन, सुख्खा बन्दरगाह निर्माण र सञ्चालन तथा सीमापार सहयोगलाई सक्रियतापूर्वक बढावा दिइरहेको विज्ञप्तिमा उल्लेख छ ।