नेपालले डब्लूएचओको क्षेत्रीय समिति अध्यक्षका रूपमा काम गर्ने

नेपालले डब्लूएचओको क्षेत्रीय समिति अध्यक्षका रूपमा काम गर्ने



काठमाडौं । नेपालले आगामी एक वर्षका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समिति अध्यक्षका रूपमा काम गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले यस सत्रदेखि नेपालले क्षेत्रीय समितिको अध्यक्षका रूपमा काम गर्ने भएको हो । सोमबारदेखि भदौ २५ गतेसम्म संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समितिको ७४औं सत्रको बैठक काठमाडौंमा हुन थालेको छ ।
बैठकमा समितिमा दक्षिण पूर्वी एसियाका ११ सदस्य राष्ट्रहरूको सहभागीता रहेने छ । यसअघि नेपालले सन् २००९ मा यस क्षेत्रीय समितिको आयोजना गरेको थियो ।

बैठकमा नेपालका तर्फबाट स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्र संघका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुने छ ।

बैठकमा संगठनका कार्यक्रमहरू, नीति, बजेटको समिक्षा तथा स्वीकृति गर्नुको साथै कोभिड–१९ लगायत अन्य समसामयिक जनस्वास्थ्यका मूल मुद्दाहरूमा गहन छलफल गरिने कार्यतालिका रहेको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिए ।

यसका साथै उक्त सत्रमा नेपालले प्रस्ताव गरे अनुसार कोभिड–१९ का सन्दर्भमा स्वास्थ्यको सर्वव्यापी पहुँच कसरी बढाउने र स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य प्रणालीलाई कसरी थप सुदृढ गर्न सकिन्छ भन्ने बारेमा मन्त्री स्तरीय विशेष छलफलसमेत हुने छ ।

आपसी एकता, हातेमालो र परस्पर सहयोगले विपद् र महामारीलाई नियन्त्रण गर्नुका साथै स्वास्थ्य सम्बन्धि विश्व, क्षेत्रीय र राष्ट्रिय स्तरमा जाहेर भएका प्रतिवद्धतालाई कसरी प्रभावकारी ढंगले हासिल गर्न सकिन्छ भन्ने बारेमा यस सत्रमा विशेष छलफल पौडेलले बताए ।

स्वास्थ्य क्षेत्रका समसामायिक र महत्वपूर्ण स्वास्थ्य मुद्दाहरूमाथि छलफल गरी आगामी दिनहरूमा सदस्य राष्ट्रहरू तथा संगठनले चाल्नुपर्ने कदमका बारेमा साझा अवधारणा तथा योजना तयार गर्ने कार्यक्रमको उदेश्य रहेको छ ।