एमसीसीको विरोधमा अमेरिकी दूतावासअगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी पक्राउ

एमसीसीको विरोधमा अमेरिकी दूतावासअगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी पक्राउ



काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न गएका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महाराजगंजस्थित अमेरिकी दूतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौता भएको उल्लेख गर्दै खारेज गर्न दबाव दिइरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीहरुले दूतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ लगायतका चर्का नाराबाजी गरेका थिए ।

अखिल क्रान्तिकारीले एमसीसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिँदै आएको छ । यता, सरकारले एमसीसीबारे स्पष्ट पार्न माग गर्दै अमेरिकी सरकारलाई पत्राचार गरेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो सम्झौता पारित गर्ने षडयन्त्र नगर्न सरकारलाई सचेत गराउँदै आएका छन् ।