कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना

कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना



काठमाडौँ । सरकारले आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गर्दै जनगणना गर्ने निर्णय गरेको हो । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाका लागि मिति तय गर्दै यससम्बन्धी प्रस्तावसहित राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका मन्त्रिपरिषदमा पठाएको थियो ।

विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम सुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । उक्त प्रस्तावअनुसार जनगणनाको काम भदौदेखि नै अघि बढ्ने र मूल गणना २५ कात्तिकदेखि ९ मंसिरसम्म तय भएको हो ।

कार्यतालिकाअनुसार भदौ २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र ३० गतेदेखि असोज १८ सम्म सुपरभाइजरहरूले घरघरमा पुगेर सूचीकरणको काम गर्नेछन् । त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिनेछन् ।

उनीहरूको तालिमपछि मूल गणना हुनेछ । यसअघि विभागले ८ असारदेखि जनगणना गर्ने तयारी गरेको थियो । कोरोना महामारीका कारण तय भएको मिति स्थगित भएको हो ।

नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको हो । त्यसयता दोस्रो पटक तोकिएको समयमा जनगणना हुन स्थगित भएको थियो । विसं २००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो ।

कोरोना महामारीका कारण अहिले दोस्रो पटक जनगणनाको कार्यतालिका प्रभावित भएको हो ।