चार दिने नेपाल भ्रमण सकेर फर्किँदै एमसिसी उपाध्यक्ष

चार दिने नेपाल भ्रमण सकेर फर्किँदै एमसिसी उपाध्यक्ष



काठमाडौं । अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को टोलीले एमसीसी परियोजनाको बारेमा शीर्ष तहको छलफल सकेको छ । छलफल र संवाद सकेर एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली आज राति साढे ८ बजे फर्कँदैछ ।

तीन दिनको यसबीचको समयमा प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका शीर्ष नेतासँग भेटेर एमसीसीका उपाध्यक्ष सुमारको टोलीले एमसिसी परियोजनालाई चाँडै अनुमोदन गर्न वा अस्वीकार गर्न आग्रह गरेको नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा भने सत्ताधारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग थप छलफल गरेर मात्रै एमसीसीको बारेमा निर्णय गर्ने निचोडमा पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ । उपाध्यक्ष सुमारसहितको टोलीले हिजो अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर यस बारेमा छिटो टुङ्गो लगाउन अनुरोध गरेको मन्त्री शर्माको सचिवालयले जनाएको छ । मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले एससीसीबारे राजनीतिक स्तरमा छलफल भइरहेको जानकारी गराएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसिसी परियोजनाका प्रावधान संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन नेकपाको कार्यदलले दिएको संशोधन सहित एमसीसीलाई अगाडि बढाउने सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । स्थायी समितिको हिजोको बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले एमसीसीका प्रावधानको पुनव्र्याख्या गर्नुपर्ने सर्त राख्ने बैठकबाठ निष्कर्ष निकालिएको बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने अमेरिकाले एमसीसी परियोजनासँग सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्ने बताए । बाँकेको नेपालगन्जमा हिजो भएको एक कार्यक्रममा अध्यक्ष नेपालले सुरुमा एमसीसी परियोजना नेपालको हितमा छ भन्ने पुष्टि गरेपछि मात्रै यसको प्रक्रिया अगाडी बढाउन सकिने बताएका हुन् ।