आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र ओमान भिड्दै

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र ओमान भिड्दै



काठमाडौं, २९ भदौ । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाल र ओमानबीचकाे खेल आज मंगलबार अपराह्न सवा ४ बजे हुनेछ ।

लिग–२ श्रृंखलामा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । सोमबारको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालका युवा व्याट्सम्यान कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेसँगै नेपालले अमेरिकालाई पराजित गरेको हो ।

त्यसअघि नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध भएको दुई मैत्रीपूर्ण एकदिवसीय श्रृंखला आफ्नो पक्षमा २/0 ले पारेको थियो । ओमान नेपालविरुद्ध सहज जितको खोजीमा छ ।

बलियो टिम ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । घरेलु टिमले पछिल्लो समय उत्कृष्ट खेलिरहेको छ । ओमान लिग-२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । ओमानले १० खेलमा १६ अंक जोडेको छ ।

नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिग-२ विश्वकप छनोटको एक रुप हो । लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लिग-२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

लिग-२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो । टियु क्रिकेट मैदानमा २0२0 को फेब्रुअरी ५ मा भएको खेलमा नेपाललाई ओमानले १८ रनले हराएको थियो । त्यस्तै ९ फेब्रुअरीमा भएको दोस्रो भेटमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो ।