केन्द्रीय बैङ्कले ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने

केन्द्रीय बैङ्कले ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजबाट नयाँ नोट साट्न पाउने व्यवस्था गरेको छ । एक जना व्यक्ति बराबर १८ हजार ५ सय रुपैयाँसम्म नोट साट्न पाउने व्यवस्था गरिएको बैङ्कको जनाएको छ ।

नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको हाे ।

दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । केन्द्रीय बैङ्कको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र यही असोज ४ गते सोमबारदेखि इजाजतप्राप्त वाणिज्य बैङ्कका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

करिब १५ अर्बसम्म ५ रुपैयाँदेखि १ सय रुपैयाँसम्मका नयाँ नोट साटिने राष्ट्र बैङ्कले अनुमान गरेको छ भने यस वर्ष सर्वसाधारणलाई ३० देखि ३५ अर्बको हाराहारीमा नयाँ नोट वितरण गरिनेछ ।

सर्वसाधारणलाई वितरण गर्न वाणिज्य बैङ्कहरूले ४ अर्ब रुपैयाँको नयाँ नोट लगिसकेको राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । राष्ट्र बैङ्कले बालुवाटार कार्यालय र ७ वटै प्रदेशका प्रादेशिक कार्यालयबाट नयाँ नोट वितरण गने जनाएको छ ।