त्रिकोणात्मक सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

त्रिकोणात्मक सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो



एजेन्सी । ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली टिम ओमान गएको थियो ।

अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकालेको थियो । नेपालले आइतबार भएको खेलमा घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको थियो । जुन नेपालले एकदीवसीय अन्तर्राष्ट्रियमा ओमानमाथि पहिलो जित हो ।

त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । ओमानलाई हराएपछि नेपाल लिग–२ को चौंथो स्थानमा समेत उक्लिएको थियो ।

नेपालले ८ खेलमा ८ अङ्क जोडेको छ । ओमान १३ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । त्रिकोणात्मक सिरिज अघि नेपाली टोलीले पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । नेपालले त्यस सिरिज २–० ले जितेको थियो ।