सन्दिपको ओडिआई बरियतामा सुधार

सन्दिपको ओडिआई बरियतामा सुधार



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको बलिङतर्फ ७९औं स्थानमा उक्लिएका हुन् । उनले फड्को मार्ने क्रममा भारतका हार्दिक पाण्डे, अष्ट्रेलियाका मिचेल मार्स जस्ता चर्चित खेलाडीलाई पछि पार्दै आफ्नो बरियतामा सुधार गरेका हुन् ।

भर्खर मात्र ओमान भ्रमणमा सन्दिपले उत्कृष्ट प्रदर्शन गरेपछि ओडिआई बरियतामा फड्को मारेका हुन् । आइसीसी विश्वकप लिग- २ त्रिकोणात्मक ओडीआइ सिरिज र पपुवा न्युगिनीसँगको दुईवटा ओडिआइ खेलमा सन्दिपले कूल १८ विकेट लिंदै सान प्रदर्शन गरेका थिए ।

पपुवा न्युगिनी विरुद्ध पहिलो खेलमै चार विकेट लिएका सन्दिपले दोस्रो खेलमा ६ विकेट लिंदै नेपाललाई सहज जीत दिलाएका थिए ।

ओमानसँगको पहिलो खेलमा भने पेटमा चोट लागेका कारण सन्दिपले बलिङ गर्न पाएका थिएनन् । सन्दिपले पछिल्लो १६ ओडिआई खेलमा ४१ विकेट लिइसकेका छन् । नेपाल भने ओडिआई बरियतामा १६औं स्थानमा र टी-ट्वान्टी आई बरियतामा १३औं स्थानमा रहेको छ ।