अनेसास कविता प्रतियोगितामा पोखरेल प्रथम

अनेसास कविता प्रतियोगितामा पोखरेल प्रथम



काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आयोजना गरेको कविता प्रतियोगितामा कवि शरद पोखरेल प्रथम भएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार अमेरिकामा भर्चुअलरुपमा आयोजना गरिएको प्रतियोगितामा १०३ कविका कवितालाई पछि पार्दै जापान निवासी पोखरेलको ‘एउटा चराको सुसाइड नोट’ शीर्षकको कविता प्रथम भएको हो ।

यस्तै नेपालका शुभचन्द्र राई द्वितीय तथा अफ्रिका निवासी गणेश खड्का, अमेरिका निवासी केशवराज ज्ञवाली र नेपालका वन्दना भट्टराईका कविताले तृतीय स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई अमेरिकी डलर ५००, द्वितीयलाई ३०० र तृतीय हुनेलाई जनही दुई/दुई सयका साथै प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा आयोजित कविता वाचनमा १०३ बाट ३५ कविता छनौट भएकामा ३२ कविले कविता वाचन गरेका थिए । राष्ट्रकविको जन्मजयन्तीका अवसरमा प्रत्येक वर्ष यस्तो प्रतियोगिता गरिने अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माईला’ले जानकारी दिए ।