विश्व पर्यटन दिवस : विभिन्न देशका राजदूत एकैपटक पोखरामा

विश्व पर्यटन दिवस : विभिन्न देशका राजदूत एकैपटक पोखरामा



पाेखरा । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख पोखरा आइपुगेका छन् । उनीहरूलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले स्वागत गरे ।

कतार, युएई, फिनल्याण्ड, उत्तर कोरिया, साउदी अरेविया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत पोखरा आइपुगेका हुन् । त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कूनीतिक नियोगका प्रमुखसमेत पोखरा आइपुगेका हुन् । राजदूतसहितका विशिष्ट कूटनीतिज्ञको पोखरा भ्रमणले थलिएको पर्यटन व्यवसाय माथि उठाउन सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको सचिव पौडेलले बताए ।

विदेशी राजदूतसहित विशिष्ट कूटनीतिज्ञको पोखरा भ्रमणको कार्यक्रमले पर्यटन सम्बद्ध क्षेत्रका व्यवसायीमा उत्साह थपेको परिषद्का अध्यक्ष भट्टराईले बताए । यो भ्रमणसँगै पोखरा पर्यटकका लागि खुला छ भन्ने सन्देश विश्वव्यापी जाने बताउँदै उहाँले स्वास्थ्यका मापदण्ड पालनाका साथ पोखरा पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न खोजिएको धारणा राखे ।

राजदूतसहितको टोलीको सम्मानमा हिजो आइतबार साँझ गण्डकी प्रदेश सरकारतर्फबाट रात्रिभोज आयोजना गरिएको छ । आज कूटनीतिज्ञले पोखरा र आसपासका विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमणका साथै छोटो दुरीको हाइकिङमा सहभागी हुने कार्यक्रम छ ।

आजै पोखराको लेकसाइडमा राखिएको सडक महोत्सवमा उनीहरू सहभागी हुने कार्यक्रम छ । विशिष्ट कूटनीतिज्ञको पोखरा आगमनले विश्व पर्यटन बजारमा पोखराको सकारात्मक सन्देश प्रवाह गर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताए ।