कोरोना बीमा भुक्तानी प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको निर्देशन

कोरोना बीमा भुक्तानी प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको निर्देशन



काठमाडौं । विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् । मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीका लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन् ।

यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न उनले समितिलाई निर्देशन दिए । विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ । यसमा सरकार, बीमा समिति, पुनर्बीमा कम्पनीलगायतको दायित्व छ ।

सरकारको दायित्वमा पर्ने कोरोना बीमा दाबी भुक्तानीको र कम निकासामा चौतर्फी दबाब परेपछि मन्त्री शर्माले सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गरेका हुन् । एक लाख रुपियाँको प्रतिव्यक्ति एक हजार र ५० हजारको प्रतिव्यक्ति पाँच सय रुपियाँ बीमा शुल्क रहेको थियो । परिवारको सम्पूर्ण सदस्यको बीमा गर्नुपरेमा एक लाख रुपियाँका लागि छ सय र ५० हजार रुपियाँका लागि तीन सय रुपियाँ शुल्क तोकिएको थियो ।