अब तीनै तहकाे निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउनुपर्छः डा. महत

अब तीनै तहकाे निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउनुपर्छः डा. महत



काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी तीनै तहकाे निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका साथ आमनागरिकको सेवामा उत्रिन नेपाली कांग्रेसका कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई आग्रह गरेका छन् ।

शनिवार नेपाली कांग्रेस बुढानीलकण्ठ नगरसमितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सहमहामन्त्री डा. महतले सो कुरा बताएका हुन् । उनले अहिले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको भए पनि यो विभिन्न वैचारिक धरातलमा उभिएका राजनीतिक दलहरुको गठबन्धन सरकार भएकोले प्रधानमन्त्रीले फुकी फुकी कदम चाल्नु परेको बताए । उनले अघिल्लो निर्वाचनमा अधिक मत पाएको राजनीतिक दल सरकार सञ्चालन गर्न असक्षम भएकाले संविधान अनुरुप नयाँ सरकार गठन गर्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।

डा. महतले वर्तमान सरकारले संविधान अनुरुप राज्य सञ्चालन गर्ने, देशमा कानुनी शासन कायम गर्ने, लोकतन्त्र र संविधानको रक्षा गर्ने, आमनागरिकलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको भयबाट मुक्ति दिने र पूर्ववर्ती सरकारले खल्बल्याएको वैदेशिक सम्बन्धलाई सुमधुर बनाउदै देश र जनताको हितमा काम गरिरहेको बताए ।

सत्ता साझेदार दलहरुको घुर्की, धम्की, अनुनय र विनयका आधारमा चल्ने सरकारबाट नेपाली कांग्रेसले लिएका नीति, कार्यक्रम र लक्ष्यहरु हासिल हुने गरी सरकारले काम गर्न नसक्ने स्पष्ट पार्दै सहमहामन्त्री डा. महतले आउने निर्वाचन जितेर एकल सरकारमार्फत आफ्ना कार्यक्रम लागू गर्न तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।