कांग्रेस काठमाडौं महानगरमा नीलकाजीको प्यानल नै विजयी, कसले कति मत पाए ?

कांग्रेस काठमाडौं महानगरमा नीलकाजीको प्यानल नै विजयी, कसले कति मत पाए ?



काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । उनले सभापतिका उम्मेदवार प्रगतीमान रञ्जितलाई पराजित गरेका हुन् । शाक्यको जितसँगै महानगरमा कांग्रेस संस्थापन इतर (प्रकाशमान सिंह–गगन थापा) समूहले बाजी मारेको छ ।

शाक्य ७८६ मतका साथ विजयी भए भने सभापतिका अर्का प्रत्यासी रञ्जितले ३२९ मत पाएकाे प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए । निर्वाचनमा ११३९ मत खसेको थियो । उपसभापतिमा सन्तकुमार महर्जन र सुशीला ढकाल, सचिवमा सुशन बैद्य र पुरुषोतम खकुरेल तथा सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।

नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य विसं २०७४ मा सम्पन्न काठमाडौँ महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्षसमेत हुन् । काठमाडौं महानगर कार्यसमितिमा शाक्यको प्यानल विजयी भएको छ ।

यसअघि काठमाडौँको सात निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ भने दक्षिणकाली नगरपालिकामा वडा नं २ को अधिवेशन गर्न नसकेर पालिका अधिवेशन हुन नसकेको काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिए । । दक्षिणकाली नगरपालिकाको पनि दसैँअघि निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन समिति अगाडि बढिरहेको छ ।