ठगी आरोपमा सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ

ठगी आरोपमा सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ



काठमाडौं । नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ ।

सीआइबीका डीआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सुन्धाराबाट पक्राउ गरिएको हो । सीआइबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो । नेकपा एमालेबाट राजनीतिक संरक्षण प्राप्त गरेका तामाङ सिभिल ग्रुपका अध्यक्ष हुनुहुन्छ ।

तामाङलाई एमालेले संविधानसभा सदस्य नै बनाएको थियो । संसदको अर्थसमिति सदस्य भएका तामाङले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमा आफ्नो स्वार्थअनुकूलका एक दर्जनबढी संशोधन हालेको आरोप छ । यसरी राजनीतिको आडमा देशको संवेदनशील क्षेत्रको कानून तर्जुमा प्रकृयामै हस्तक्षेप गर्ने हैसियत तामाङको छ ।