कांग्रेसले यो वर्ष पनि चियापान कार्यक्रम नगर्ने

कांग्रेसले यो वर्ष पनि चियापान कार्यक्रम नगर्ने



काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । पार्टी कार्यालय सानेपाबाट मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरेपश्चात महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन । खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो । महामारीमाथि विजय हासिल गर्न हामी चाँडै नै सफल हुनेछौं भन्ने विश्वासका साथ नेपाली कांग्रेस बडा दशै, तिहार, नेपाल सम्वत् र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।’

कोरोना संक्रमणले गर्दा कांग्रेसले गत वर्ष पनि चियापान कार्यक्रम आयोजना गरेन । बिहीबार जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘महान पर्वहरु हाम्रो घर आँगनमा आइपुगेका छन् । स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदिबहिनी–दाजुभाइमा यो घडी नेपाली कांग्रेस मंगलमय शुभकामना व्यक्त गर्दछ । पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि नेपाली कांग्रेस सबैलाई अपील गर्दछ ।’