विराटनगर । राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ । बिहीबार सिंदरवारमा बसेको गठबन्धनको बैठकले बाग्मती र प्रदेश १ का मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति गरेपछि प्रदेश १ मा राई मुख्यमन्त्री बन्ने निश्चित भएको हो । मुख्यमन्त्रीका लागि राई प्रदेश १ मा नेकपा एसको एकल उमेदवार हुन् ।
दुईदिन अगाडि मात्र नवनिर्मत संसद भवनको उद्घाटन गर्दैै मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसैँमा मासु खाएर ठन्डा दिमाग लिएर आउनुहोस् अनि सहमतिको सरकार बनाउँ भनेका थिए । उनको भनाइअनुसार उनले शुक्रबार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत नलिने बुझिएको छ ।
शुक्रबार बस्ने संसदीय दलको बैठकले के गर्ने भन्ने निर्णय गर्ने नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभन्डारीले बताए । गत १० भदौमा मुख्यमन्त्री भएका आचार्य एक हप्ता नबित्दै अल्पमतमा परेका थिए । १६ भदौमा प्रदेश निर्वाचन आयोगमा नेकपा एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेका हुन् ।
निर्वाचन आयोगले संसद सचिवालयलाई २५ भदौमा १० जनाले हस्ताक्षर गरेर एकीकृत समाजवादी रोजेको पत्र पठाएका थिए । पाटी फुटेको मितिले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । आयोगले संसदमा पत्र पठाएको मितिले ३० दिन शुक्रबार पुग्दै छ । तर, मुख्यमन्त्री आचार्यले दसँै अगाडि विश्वासको मत नलिने संकेत गरिसकेका कारण राईलाई दसैँ अगाडि मुख्यमन्त्री हुने बाटो भने खुल्ने देखिँदैन । शुक्रबार दिउसो २ बजेलाई प्रदेशसभाको बैठक बोलाइएको छ ।
प्रदेश प्रमुख परिवर्तन गर्ने र आज विश्वसको मत नलिए बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष जाने तयारीमा गठबन्धनको तयारी थियो । तर, संघमा गठबन्धनले प्रदेश प्रमुख परिवर्तन नगरिदिएपछि उनीहरूका संकटमा परेका छन् । अहिलेका प्रदेश प्रमुख सोमनाथ (प्यासी) अधिकारीलाई भने एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका थिए ।
९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक-एक जना सदस्य छन् । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिन्छ ।
प्रतिक्रिया