‘नेपाल–भारत सम्बन्ध हचुवाको आधारमा होइन व्यवस्थितढंगले अझ सुदृढ बन्ने ढोका खुल्यो’

‘नेपाल–भारत सम्बन्ध हचुवाको आधारमा होइन व्यवस्थितढंगले अझ सुदृढ बन्ने ढोका खुल्यो’



नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत कांग्रेसको प्रतिनिधित्व गर्दै भारतको पाँच दिने भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । उहाँले काठमाडौँ–दिल्लीमा भइरहेको बाहिरी चर्चा भन्दा शेरबहादुर देउवा सरकारप्रति भारतको बुझाइ फरक रहेको बताउनुभएको छ ।

नेपाल–भारतसँग जोडिएका विविध विषयहरु प्रष्ट ढंगले उठाएको डा. महतको भनाइ छ । उहाँले यो भ्रमणले नेपाल–भारत सम्बन्ध हचुवाको आधारमा होइन व्यवस्थितढंगले अझ सुदृढ बन्ने ढोका खुलेको बताउनुभएको छ । प्रस्तुत छ डा. महतसंग ग्लोब नेपाल डट कमले गरेको कुराकानी ।

–तपाईंको नेतृत्वमा भएको भारत भ्रमण पार्टी–पार्टीबीचको अन्तरसम्बन्धमा केन्द्रित हो ?

अवश्य पनि त्यो मूल विषय हो । कांग्रेसको तर्फबाट मेरै निमन्त्रणामा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख नेपाल आउनुभएको थियो । त्यसबखत पनि लामो अन्तरसंवाद भयो । दुई देशका सत्तारुढ पार्टीबीच जति प्रतिनिधिमण्डल आदान–प्रदान भएर छलफल हुन्छ त्यसले एक–अर्कालाई बुझ्ने अवसर प्राप्त हुन्छ र बुझाइको स्तरमा वृद्धि हुन्छ । स्वाभाविक रुपमा सत्ताधारी दलबीचको भेटघाटले नीतिगत निर्णयहरुमा र दुई देशबीचको अन्तसम्बन्धमा पनि प्रभाव पर्छ । त्यसकारण भ्रमण आदान–प्रदानलाई निरन्तरता दिने क्रममा सो भ्रमण सम्पन्न भएको हो ।

उहाँहरुको भ्रमणलगत्तै उहाँहरुले पनि हामीलाई निमन्त्रणा दिनुभयो । सोहीबमोजिम हामी तीन सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणमा गयौँ । भारतीय जनता पार्टीका उच्चपदस्थ व्यक्तिहरु अध्यक्ष जेपी नड्डा, महामन्त्री, विभिन्न पदाधिकारी, थिंकट्यांक, महिला विङ, युवा विङलगायतसँग पनि तीन घण्टा हेडक्वार्टरमा हाम्रो छलफल भयो । उहाँहरुसँगको सामूहिक र अलगअलग छलफलबाट हामीले एक अर्कालाई बुझ्ने मौका पायौँ ।

–छलफलको अजेण्डाचाहिँ के थियो ?

मूलभूत रुपमा दुइ पार्टीबीचको बेस्ट प्राक्टिसबाट सिक्ने र दुई देशबीच जोडिएको हाम्रो सामाजिक, सांस्कृतिक र हरेक तहको घनीभूत सम्बन्ध छ । सँगसँगै बेलाबखत समस्या पनि आउँछ, जहाँ धेरै सम्बन्ध हुन्छन् त्यहाँ समस्यारहित त हुन्न । यसलाई पनि हाम्रो बुझाइको स्तर बढ्दाखेरी भ्रमण आदान–प्रदान भइराख्दा त्यसले सम्बन्ध सुधारमा पनि मद्दत पुग्छ भन्ने थियो । सँगसँगै सत्ताधारी दल भएका नाताले नेपालको चासो र चिन्ता जुन छन् । त्यससम्बन्धमा पनि हामीले परराष्ट्रमन्त्रीसँग भेटेर उठान गर्यौं । त्यसलाई उहाँहरुले गम्भीरताका साथ लिनुभयो । हामीले सीमा समस्याका कुरा, तुइन प्रकरणका कुरा, खोप डेलिभरी, फर्टिलाइजर डेलिभरीका कुरा डिमोनिटाइजेसनलगायत अरु पनि जेजति पनि चासो र चिन्ताका विषय छन्, त्यसमा पनि हामीले छलफल गर्यौं । पार्टीगत नेताहरुसँगको छलफल, विदेशमन्त्रीसँगको छलफल होस् या पछि मुख्यमन्त्रीसँग भएको छलफलमा दुई देशबीच कुनै पनि विषयमा दरार उत्पन्न हुनुहुँदैन र विश्वासको सम्बन्ध विकसित गर्नुपर्छ, सम्बन्धलाई घनिष्ठ बनाउनुपर्छ भन्नेमा कुराकानी भयो । समस्या आइहालेमा त्यसलाई निराकरण गरिहाल्नुपर्छ भन्ने कुरामा उहाँहरु अझै बढी उत्सुक भएको पाइयो । गम्भीर भएको पाइयो ।

सडकमाचाहिँ ठूलाठूला कुरा गर्ने, जहाँ भन्नुपर्ने हो त्यहाँचाहिँ भन्दै नभन्ने कुरामा हामी विश्वास गर्दैनौँ, जहाँबाट समाधान हुने हो त्यहीँ भन्दैछौँ, यद्यपि, म सरकारको प्रत्यक्ष प्रतिनिधि होइन, तर एउटा नेपाली नागरिकको हैसियतले र रुलिङ पार्टी (सत्तारुढ दल)को जिम्मेवार व्यक्तिको हिसाबले पनि म यी कुरा राख्न चाहन्छु भनेँ । त्यसमा बुँदागत रुपमा हाम्रो छलफल भयो । हाम्रा चासो र चिन्ताको विषयलाई उहाँहरुले पनि सकारात्मक रुपमा लिएको पाएँ ।

–तपाईंहरुको भ्रमणमा पार्टी–पार्टीबीचको सम्बन्ध मात्र नभएर सरकारका सम्बन्धमा पनि कुरा भयो ?

सरकार भनेको देशको हो नि । हामी पार्टी देश र जनताभन्दा अलग छैनौँ । त्यसमाथि सरकारले गरेका कामबाट पार्टीलाई जस या अपजस जान्छ, भोलि निर्वाचनमा हामी जनतामा जान्छौँ । त्यसकारण सरकार र पार्टी चाहेर पनि अलग हुन सक्दैनन् । वैदेशिक सम्बन्धमा पनि हाम्रो पार्टीको पहलमा चिन्ता र चासोलाई सम्बोधन भयो भने त्यो नेपाली जनताको लागि पनि भयो, कांग्रेस पार्टीलाई पनि स्वाभाविक रुपमा त्यसको जस जाने भयो ।

–मैले यो प्रसंग किन जोड्न खोजेको भने सामान्यतः कांग्रेस र भाजपाबीच अन्तरपार्टी सम्बन्ध देखिँदैनथ्यो, अहिले सत्तारुढ पार्टी भएका कारण मात्र हो कि पार्टीपार्टीबीचको सम्बन्धलाई पनि सुदृढ गराउन खोज्नुभएको हो ?

हुन त पहिले कांग्रेस सत्तामा हुँदा पनि पार्टी–पार्टीबीच त्यस्तो छलफल भएको मलाई थाहा छैन, म गलत पनि हुन सक्छु । पार्टीको अधिवेशनहरुमा अन्य महत्वपूर्ण इभेन्टहरुमा सहभागी हुने कुरा छुट्टै भयो, पार्टी–पार्टीबीच प्रतिनिधिमण्डल आदान–प्रदान गर्ने गरेको थिएन ।

–त्यसको प्रारम्भ तपाईंले गर्नुभयो नि, विदेश विभाग प्रमुखलाई बोलाएर ?

हाम्रो प्रत्यक्ष कराकानीमा उहाँहरुले पनि भन्नुभयो, उहाँहरुले पनि त्यससम्बन्धमा सोच्नुभएको रहेछ ।

–तपाईं परराष्ट्रमन्त्री हुँदाको सम्बन्धले हो कि पार्टी सहमहामन्त्रीको हैसियतमा ?

पहिले पार्टीको सहमहामन्त्रीको हैसियतले पहिला निम्ता दिएँ, उहाँहरुले पनि पार्टीलाई मेरै नाममा निमन्त्रणा गर्नुभयो । र हामी गयौँ, उहाँहरुको पनि महत्वपूर्ण मित्रराष्ट्रहरुका महत्वपूर्ण पार्टीहरुसँग पार्टी टु पार्टी सम्बन्ध विकसित गर्ने नीति उहाँहरुले पनि बनाउनुभएको रहेछ । यहाँ छलफल हुँदा हामीलाई पनि यो उचित लाग्यो । त्यसले हाम्रो बुझाइको स्तर सुदृढ हुन्छ, एकअर्का सरकारमा आउलान् र कुरा गरौँला भनेर बस्नुभन्दा सत्तामा जाने सम्भावित पार्टीहरुसँगको विभिन्न तहका नेताहरुसँगको छलफलले आपसी सम्बन्ध बलियो बनाउन सघाउ पुग्छ । त्यस हिसाबले हामीले छलफललाई अघि बढाउन उपयुक्त लागेर छलफल बढायौँ ।

–केही समयअघि अघिल्लो नेपालको सरकारकै पक्षमा भारतीय सत्तारुढ पार्टी थियो भन्ने बुझाइ थियो, प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएपछि त्यहाँका प्रधानमन्त्रीले बधाई दिन ढिला गर्नुभयो, भन्ने पनि बुझाइ थियो, यो भ्रमणले त्यसमा केही सहजीकरण भयो ? उहाँहरुको बुझाइमा केही परिवर्तन भयो ?

एउटा कुरा त नेपालको बुझाइअनुसार त्यहाँको बुझाइ थिएन भन्ने मलाई लाग्यो, नेपाली कांग्रेस पार्टी लोकतान्त्रिक पार्टी हो जिम्मेवार पार्टी हो राख्नुपर्ने कुरा राख्न हिच्किचाउँदैनौँ, यहाँ कतिपय ओलीजी, कम्युनिष्ट पार्टीहरु कुराचाहिँ ठूला गर्ने, जहाँ बोल्नुपर्ने हो त्यहाँ चुँक्कै नबोल्ने यो त हामीले देख्यौँ । ओलीजीको पालामा पनि अतिशयोक्तिपूर्ण तरिकाबाट हरेक विषयमा जनतातर्फ फर्केर उहाँहरुले शंखनाद गर्नुभयो, तर यहाँ शंखनाद गरेको कुरा त्यहाँ चुँक्क पनि गर्नुभएन ।

–डा. साबले कुरा उठाइहाल्नुभयो, त्यहाँ चुच्चे नक्शाको पनि केही प्रसंग आयो ?

मैले यो विषयमा नेपालमा हाम्रो साझा दृष्टिकोण छ, यसमा ऐतिहासिक जुन आधार छ, तथ्यका आधारमा छलफल अघि बढाऔँ, कूटनीतिकबाहेक युको समाधानको अर्को बाटो छैन, त्यसैले यसको छलफलको ढोका खोल्नुपर्छ । हामीले यो भनेका छैनौँ कि आज हामीले कुरा राख्यौँ भोलि तपाईंहरुले मान्नुहुन्छ, या टुंगिन्छ भन्ने छैन । तर, छलफलको ढोका खोलौँ र सम्वादलाई निरन्तरता दिएपछि ढिलो चाँडो एउटा निष्कर्ष निस्किन्छ, समान धारणा बनाउन सकिन्छ भनेर मैले राखेँ । उहाँहरुले पनि त्यसलाई सहज रुपमा लिनुभयो । संविधान संशोधनले ‘कम्प्लिकेशन’ बनाएको कुरा उहाँहरुले उठाउनुभएको थियो । तथापि, त्यसलाई समाधान गर्नुपर्छ भन्ने नै कुरा भयो । तुइन प्रकरणको कुरा सामान्यजस्तो लाग्न सक्छ, तर यो नेपाली जनताको भावनासँग जोडिएको विषय भयो । कतिपय सम्वेदनासँग जोडिएका विषयले दिने म्यासेज महत्वपूर्ण हुन्छ, माथिल्लो नेतृत्वले आदेश दिएर गरेको हो भनेर हामीले आरोप लगाएको त छैन, कुनै तहमा मिस्टेक हुन सक्छ, तर त्यसलाई छानबिन गरेर यसको करेक्सन हुन्छ भन्दा ठूलो सन्देश जान्छ । सम्बन्धमा विश्वास बढ्दै जान्छ भनेर राख्यौँ उहाँहरुले गम्भीरताका साथ लिनुभयो ।

–डा. साब, तर, नेपाली कांग्रेसको सरकारले तुइन प्रकरणमा लिनुपर्ने जति पनि अडान लिएन भनेर अहिले पनि आलोचना हुने गरेको छ नि ?

हाम्रो गृह मन्त्रालयले छानबिन गरेपछि त्यसको आधारमा परराष्ट्र मन्त्रालयले पत्र पठाएको थियो । त्यस विषयमा पनि मैले उद्धरणसहित स्मरण गराएँ । उहाँबाट संलग्नता नरहेको भनेर जवाफ पनि आइसक्यो, तर हामीले सम्झाएपछि उहाँहरुले त्यसलाई अझै पनि गम्भीरतापूर्वक लिएर सरकारले पनि त्यसलाई फलोअप गर्ने भनेको छ ।

चुच्चे नक्सामा हामीले हाम्रो भूभाग देखायौँ, तर उपभोगमा त आएन, भारतकै उपयोगमा छ नि ? त्यसलाई छलफल गरेर समाधान गर्नुपर्योे, हामीले पनि ऐतिहासिक दस्ताबेज प्रस्तुत गर्नुपर्योे । उहाँहरुको पनि केही छ भने त्यसलाई भिडाउनुपर्योे । त्यसका आधारमा केही न केही साझा अवधारणा निस्किएला नि, छलफलनै नगरी यहाँ मात्रै चिच्याएर बसेर त केही हुँदैन ।

–तत्कालीन प्रधानमन्त्री ओलीको पालामा कुनै सन्देश भारतलाई पुगेकै रहेनछ ?

अहँ त्यो देखिएन, न उहाँहरुले भनेको सुनियो, यहाँबाट कुरा राखिएको भए त उहाँहरुले भन्नुहुन्थ्यो होला । केही प्रस्ताव आउँथ्यो होला, त्यो त केही देखिएन ।

–नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएपछि भारतले भ्रमणका लागि निमन्त्रणा गर्ने अभ्यास थियो, आजसम्म त्यो भएको छैन, तपाईंको भ्रमणले त्यसमा केही भयो ?

हेर्नुस् यो सत्तामा आउनेबित्तिकै तत्कालै दोडिहाल्नुपर्ने यो कल्चर नै गलत हो । योचाहिँ आवश्यकताको सिद्धान्तका आधारमा यस्ता कुरा अगाडि बढ्नुपर्छ । त्यहाँ जाँदा तयारी हुनुपर्छ । जाने र भेटघाट गरेर आउने मात्रै ठूलो कुरा होइन । कतिपय उठाउनुपर्ने विषय हुन्छन्, त्यसमा गृहकार्य पनि हुनुपर्योे । अहिले दुई प्रतिनिधिमण्डलबीच बोर्डर सुरक्षासम्बन्धी, रेलवेसम्बन्धी कुरा भइरहेको छ । अरु विभिन्न आयाम छन्, दुईदेशबीच सम्बन्धका विभिन्न पाटा छन्, त्यसको छलफल हुनुपर्यो । निष्कर्ष निकाल्नुपर्यो । विनागृहकार्य भ्रमणको अर्थ पनि छैन ।

बधाइ दिने सन्दर्भमा पनि नेपालमा प्रधानमन्त्री नियुक्त हुनुभयो, उहाँले विश्वासको मत लिनुभएको थिएन । विश्वासको मत लिएपछि उहाँहरुले बधाइ दिनुभयो त्यो पनि स्वाभाविक हो नि । अहिले हामी पनि भ्रमणका लागि हतारिएका छैनौँ । जलवायुसम्बन्धी बैठकमा बेलायतमा भेट होला, त्यसपछि भ्रमण गरे पनि भइहाल्छ नि । प्रधानमन्त्रीमा आउनेबित्तिकै गइहाल्नुपर्छ भन्नेमा म कुनै तुक देख्दिनँ ।

–तर, निम्ता गर्ने पनि पहिला त्यसरी नै गर्ने गर्थे नि ?

निम्ता गर्नेले पनि यत्तिकै निम्ता गदैनन्, पहिला परराष्ट्रमन्त्री तहबाट, राजदूतावास तहबाट कुरा हुन्छ । भ्रमण उपयुक्त होकि होइन, भन्ने भएपछि औपचारिक निमन्त्रणा आउँछ यत्तिकै सरप्राइज दिने गरी निमन्त्रणा आउँदैन नि ।

–पार्टीगत तहमा कुरा गर्ने हो भने नेपाली कांग्रेसको कंग्रेस आइसँग बढी निकटता छ भनेर मान्ने गरिन्थ्यो, अहिले कांग्रेसको नीतिमा केही फरक आएको हो ?

त्यस्तो होेइन, भारतीय कंग्रेस पार्टी भारत स्वतन्त्र भएदेखि लामो समयसमम सत्तामा रह्यो, बिजेपी पछि आएको हो । बाजपेयी (अटलविहारी बाजपेयी) हुँदा पनि हाम्रो एकप्रकारको सम्बन्ध विस्तार भयो । अहिले मोदीजी (नरेन्द्र मोदी) दोस्रो कार्यकालमा हुनुहुन्छ, त्यसकारण आवश्यकताको सिद्धान्तअनुसार गर्नुपर्यो नि । यसको मतलब कंग्रेस पार्टीसँग सम्बन्ध नै नराख्ने भन्ने हुँदैन । उहाँहरुसँग पनि पार्टी तहमा सम्बन्ध हुनुपर्छ ।

–दुईटा सत्तारुढ पार्टीबीच सहकार्यका लागि कुरा भयो भनेर बुझ्दा भयो ?

सत्तारुढ दलको हिसाबले पनि, एउटा महत्वपूर्ण दलको हिसाबले पनि, कुनैबेला सत्तामा आउने सम्भावना भएको दलसँग पनि हामीले सम्बन्ध राख्यौँ भने सजिलो हुन्छ । नेपाललाई बुझेका चन्द्रशेखरजीहरु हुँदा जस्तो भन्दा अहिले ग्याप भएको परिस्थिति हो ।

–मोदीजीले सम्बन्ध विस्तारका लागि एउटा प्रयास त गर्नुभएको हो नि ? तै पनि दरार आइरहेको छ नि ?

हाम्रो राजनीतिक नेतृत्वमा समस्या छ । हामी गृहकार्य गर्देनौँ, हचुवामा जनतामा बोल्दिन्छौँ, हाम्रो कर्मचारीतन्त्र पनि समस्याग्रस्त छ । आफ्नो कर्तव्यमा सबै लाग्नुपर्यो । यिनीहरुले यो कुरामा छाड्दैनन् भन्ने पनि पार्नुपर्योे नि ?

–भनेपछि स्थिरता छैन ?

स्थिरता छैन, नेपालमै पनि ओलीजीले पानीजहाजका कुरा ल्याउनुभयो, त्यसको तयारी गृहकार्य छैन । कामकाप्रति कर्तव्यका प्रति जिम्मेवार हुनुपर्योे । मैले छोटो समयमा विदेशमन्त्री भएका बेला तीनचारवटा विषयमा काम गरेको थिएँ । यो यो विषयमा यसो हुनुपर्योे भनेर उठाएको थिएँ । हामीले राजनीतिक तहमा कुरा गर्यौं भने बुझाउन सकिन्छ । उहाँहरुले पनि यसरी व्यवस्थित हिसाबले आएकै थिएन भनेर स्वीकार गर्नुभयो ।

–तपाईहरुको भ्रमणले राजनीतिक तहमा नयाँ आयाम ल्यायो भन्न खोज्नुभएको हो ?

त्यस्तो नयाँ आयाम नै सिर्जना गर्योे भनेर त म दाबी त गर्दिनँ तर यो भ्रमणले सकारात्मक आधार सिर्जना गर्छ । सरकारले यसलाई फलोअप गर्न जरुरी छ ।

–तपाईं पूर्वपरराष्ट्रमन्त्रीका नाताले विदेशमन्त्रीसम्मलाई भेट्नुलाई स्वाधाविक रुपमा लिन सकिन्छ, तर, मुख्यमन्त्री योगीलाई भेटेको विषयमा नेपाली मिडियाले योगीलाई भारतमा भोलिको उत्तराधिकारीका रुपमा लिइन्छ, उनी हिन्दू धर्मका पक्षमा छन् र त्यसमा भारतले लबिङ गर्न इच्छुक भएर तपाईंहरुले भेट्नुभयो भनेर लेखे नि ?

हेर्नुस् उत्तरप्रदेश भारतको सबैभन्दा ठूलो राज्य हो नेपालको धेरै भू–भाग जोडिएको राज्य पनि हो । धेरै उद्योग व्यवसाय भएको, बोर्डर जोडिएको राज्य हो । त्यसो हुनाले त्यो तहमा पनि छलफल हुन जरुरी लाग्यो । उहाँहरुले पनि त्यसलाई स्वीकार गर्नुभयो । बनारससँग पनि हाम्रो ऐतिहासिक कनेक्सन छ । सांस्कृतिक र राजनीतिक सम्बन्ध छ । मुख्यमन्त्री योगीजीले पनि नेपाललाई बुझेको पाएँ । उहाँले राष्ट्रवादी नेपाल मात्र भारतको हितमा छ भनेर सुनाउनुभयो । हामीले नेपाललाई हरतरहले मद्दत गर्नुपर्छ, नेपाली विश्वासिलो जाति हो । बलियो नेपाल भारतको हितमा छ भन्ने उहाँहरुको बुझाइ छ । त्यसलाई हामीले कसरी आफ्नो पक्षमा पार्ने भनेर गृहकार्य गर्नुपर्छ ।

–हिन्दू राज्यको प्रसंग उठ्यो कि उठेन ?
यस्तो राज्य उस्तो राज्य भनेर उठेन । नेपालको सांस्कुृतक पहिचान जुन छ, त्यो एकदमै पूजनीय छ, त्यो विकसित हुनुपर्छ संरक्षित हुनुपर्छ यो हाम्रो साझा सम्पत्ति हो भनेर उहाँहरुले भावना राख्नुभयो । त्योसँग पूर्ण रुपमा सहमत छु ।