एनआरनलाई डलर खाता खोल्न दिनेबारे छलफल

एनआरनलाई डलर खाता खोल्न दिनेबारे छलफल



गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् । मङ्गलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारेको समीक्षात्मक कार्यक्रममा उहाँले विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको बताएका हुन् ।

“सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नको लागि एनआरएनले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा भइरहेको छ”, मन्त्री शर्माले भने, “उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे हाम्रो छफलफल जारी छ ।” एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदुपयोग गर्न सकिने उनले बताए ।

विकसित देशमा क्रिप्टोकरेन्सीको कुरा भइरहे पनि हामीले सबैभन्दा पहिले पूर्णरूपमा डिजिटल कारोबारमा जानुपर्ने बताउँदै उनले डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक छ भने । सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पूँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनजीर्वित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको मन्त्री शर्माले जानकारी दिए । आर्थिक वृद्धिमा बेमौसमी वर्षाले रणनीतिक असर पारे पनि लक्ष्यमा पुग्न अन्तिम समयसम्म कार्य गर्नुपर्ने बताए ।

मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चयकोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताए । उनले हुन्डी कारोबारलाई रोक्न सो व्यवस्था गर्ने बारे छफलफल भइरहेको बताए । “विदेशमा रहेकाको सञ्चयकोष बनाएर केही रकम हामीले यहाँ थपिदिएर औपचारिक माध्यमबाटै सबै पैसा पठाउने वातावरण बनाउने तयारी भइरहेको छ”, मन्त्री शर्माले भने ।