सुनसरी-४ मा कांग्रेस संस्थापन पक्षको प्यानल नै विजयी

सुनसरी-४ मा कांग्रेस संस्थापन पक्षको प्यानल नै विजयी



सुनसरी । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ मा संस्थापन पक्षको प्यानलै विजयी भएको छ । सार्वजनिक मतपरीणाम अनुसार संस्थापन पक्षका ऐयुब अन्सारी नेतृत्वको प्यानलै विजयी भएको हो । अन्सारीले ६ सय ५४ मतमध्ये ४ सय २७ मत ल्याएर पुन: सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी संस्थापन इतर समूहका जमिल अख्तर आजादले २ सय २० मतमै चित्त बुझाए ।

यसैगरी सचिवमा रोशनकुमार खड्का ३ सय ९८ र जुगेश्वर यादव ३ सय ८७ मत ल्याएर निर्वाचित भएका छन् । इतर समूहबाट उम्मेदवारी दिएका धिरज भट्टराईले २ सय ३६ र पूर्णराज यादवले २ सय २१ मत मात्र पाए ।

सहसचिवमा पनि अन्सारी प्यानलका जितेन्द्र यादवले ४ सय १२ र सन्तकुमार राईले ३ सय ९० मत ल्याएर निर्वाचित भएका छन् । उनीहरूविरुद्ध उम्मेदवारी दिएका खेमराज कार्कीले २ सय ३२ र सुशीला थापा बस्नेतले २ सय १६ मत ल्याएर पराजित भएका छन् ।

सुनसरी- ४ संस्थापन पक्षको एक मात्र साख जोगाउने क्षेत्र देखिएको छ । २०७४ सालमा भएको चुनावमा हाल सरकार प्रवक्ता तथा सूचना सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए । जिल्लाको अन्य क्षेत्रमा पौडेल-कोइराला समूह अगाडि छ ।

सुनसरी-२ को क्षेत्रीय सभापतिमा संस्थापन इतर समूहका लीलामणि सुवेदी विजयी भएका छन् । उनले संस्थापन समूहका मणिराम श्रेष्ठलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन्। श्रेष्ठले ३६२ मत प्राप्त गर्दा सुवेदीले ४८८ मत प्राप्त गरेका थिए ।

सचिवमा सुवेदी प्यानलका मनोज कुमार चौधरी, र संस्थापन समूहका कृष्णदेव मेहता निर्वाचित भएका छन् । सहसचिवमा सुवेदी प्यानलका खेमराज पोखरेल र शत्रुधन शाह निर्वाचित भएका छन् । क्षेत्र नम्बर ३ मा आज बिहीबार चुनाव गर्ने तयारी छ ।