तनहुँमा कांग्रेसको जिल्ला अधिवेशन : बैकुण्ठ भर्सेस जितप्रकाश

तनहुँमा कांग्रेसको जिल्ला अधिवेशन : बैकुण्ठ भर्सेस जितप्रकाश



तनहुँ, ११ मंसिर । नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने र कार्यबाहक सभापति जितप्रकाश आले वरिष्ठ नेता रामचन्द्र पौडेलका ‘हार्डलाइनर नेता’ हुन् । कांग्रेसको आसन्न १४औँ महाधिवेशनको संघारमा दुई नेता विभाजित भएर फरक प्यानलमा लागेका छन् । स्थानीय तह, प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रको अधिवेशनमा फरक प्यानलमा सक्रिय यी दुई नेताको जिल्ला अधिवेशनमा सभापति पदमा भिडन्त हुँदैछ ।

आले पौडेललाई छाडेर संस्थापन समूहबाट जिल्ला सभापतिको उम्मेद्वार बनेका हुन् । केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको समर्थनमा आले प्यानल बनाएर बैकुण्ठलाई पराजयको स्वाद चख्याएर जिल्ला सभापति बन्ने दाउमा छन् । पौडेल समूहका उम्मेद्वार न्यौपानेले केन्द्रमा कृष्णप्रसाद सिटौला समूहका केन्द्रीय सदस्य प्रदीप पौडेल गुटको सहारा लिएका छन् । व्यास नगरपालिकाका मेयरसमेत रहेका न्यौपाने फेरि जिल्ला सभापतिमा दोहोरिन चाहन्छन् ।

शुक्रबार तय भएको जिल्ला अधिवेशन एक दिन पर धकेलेर शनिबार आज हुँदैछ । सदरमुकाम दमौली बजारस्थित खुला मञ्चमा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । मंसिरको चिसोमा याममा पनि कांग्रेसको जिल्ला अधिवेशनले दमौली बजारको महोल यतिबेला हप्पक्कै गर्माएको छ ।

मतदनामा सहभागी हुन लाइनमा बसेका मतदातासँग भोट माग्न व्यस्त छन् उम्मेद्वार । उम्मेद्वारका निकटका नेता कार्यकर्ता पनि आफ्ना मान्छेलाई भोट मागेर जिताउन भरमग्न प्रयासरत देखिन्छन् । कांग्रेस जिल्ला अधिवेशनको दृश्यले आमनिर्वाचनको झझल्को दिलाउँछ ।

न्यौपाने प्यानलको उपसभापतिमा भानु नगरपालिकाका मेयर उदयराज गौली, शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ चुनावी मैदानमा छन् । सचिवमा केशबहादुर सुनार र मोहन गिरी, सहसचिवमा मिलन आले र धिरेश खनालको उम्मेद्वारी परेको छ ।

आले प्यानलको उपसभापतिमा ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, सचिवमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी, सहसचिवमा परमेश्वर भट्टराई र हुतमणि अधिकारी चुनावी परीक्षामा होमिएका छन् ।

६ मंसिरमा सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई विश्लेषण गर्दा तनहुँ क्षेत्र नम्बर १ मा पौडेल समूह बलियो छ । क्षेत्र नम्बर २ मा संस्थापन देउवा समूह बलियो देखिन्छ । तर उम्मेद्वार छनोटमा दुवै प्यानल चलाख निस्किएका छन् । यसअगाडिको अधिवेशनमा पपुलर भोट पाएकालाई उम्मेद्वार बनाइएको छ ।

दिउँसो १ बजेसम्म कांग्रेस तनहुँको नेतृत्व चयनका लागि भएको मतदानमा नौ सय मत खसेको निर्वाचन अधिकृत चन्द्रकान्त वाग्लेले बताए । एक हजार आठ सय १७ जना मतदाता छन् । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिए पनि दुई घन्टा समय बाँकी हुँदा ५० प्रतिशत मत मात्र खसेको छ । ‘३ बजेसम्म निर्वाचन समितिले मतदानको समय तोकेका छौँ । त्यतिबेला सम्म सकिएन भने लाइनमा बसेकालाई मतदान गर्न दिनेछौँ’, उनले भने ।