कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी

कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी



विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा पहिलो चरणकाे मतदानले जिल्ला सभापतिकाे छिनाेफानाे गर्न नसकेपछि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवा, सिटौला र पौडेल पक्षबीच तालमेल भएको थियो ।

पहिलो चरणमा संस्थापन देउवा पक्षका दिलीप गच्छदार, संस्थापनइतर कोइराला पक्षका डिकबहादुर लिम्बु र कृष्णप्रसाद सिटौला पक्षका यदु विष्टबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको चुनावमा लिम्बुले सर्वाधिक १ हजार ५४४, गच्छदारले १ हजार १६६ र विष्टले ५६३ मत ल्याए । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले मंगलवार पुनः मतदान भएको थियो ।

मगलबार भएको मतदानमा कोइराला पक्षका लिम्बुलाई घेराबन्दी गरे पनि मतदाताले भने त्यसलाई विफल बनाइदिएका छन । मंगलबार मध्यरातमा सार्वजनिक मतपरीणाम अनुसार लिम्बुले १ हजार ९ सय ६ मत प्राप्त गरी जिल्ला सभापतिमा विजयी हुँदा गच्छदारले १ हजार ४२५ मत पाए ।

मंसिर १२ गते भएको मतदानमा तेस्रो मत प्राप्त गरेका विष्टले संस्थापन पक्षका गच्छदारलाई समर्थन गरेका थिए । विराटनगर महानगरका मेयर भीम पराजुलीले पनि शेखर कोइरालाको साथ छाडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गरेका छन् । सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गरेका हुन् । सभापतिका आकांक्षी डा. शेखर कोइरालाको गृहजिल्ला मोरङमा उनी समर्थित उम्मेदवार लिम्बुलाई पराजित गर्न देउवा, पौडेल, सिटौला पक्ष सबै एक ठाउँमा आएका थिए ।