चितवन कांग्रेस अधिवेशन : नेताहरुको अनपेक्षित दबाबपछि निर्वाचन अधिकृतले दिए राजीनामा

चितवन कांग्रेस अधिवेशन : नेताहरुको अनपेक्षित दबाबपछि निर्वाचन अधिकृतले दिए राजीनामा



चितवन । नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस चितवनको सभापतिका लागि बुधबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । तर, नेताहरूको अनपेक्षित दबाबपछि चितवनका लागि केन्द्रबाटै खटिएर आएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् ।

मनोनयनपत्र दर्ता गर्ने दिनभन्दा अघिल्लो दिन पोखरेलले राजीनामा दिएका हुन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिबाटै खटिएर आएका पोखरेलको राजीनामा पछि चितवन कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । निर्वाचन समितिलाई बुझाएको राजीनामा पत्रमा भने पोखरेलले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको भनि उल्लेख गरेका छन् ।

नेताहरूले चुनावको मिति सार्ने विषयमा विभिन्न दबाब दिएपछि पोखरेलले राजीनामा दिएका हुन् । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भने मंगलबार साँझ एक विज्ञप्ति जारी गरी सभापतिका आकांक्षीहरूबीच साझा धारणा बनाएर निर्वाचनको मिति तोक्न सिफारिस गरिएकोमा निर्वाचन अधिकृतको अचानक राजीनामा आएको बताए ।

निर्वाचन अधिकृत पोखरेलले भने विभिन्न किसिमका अनपेक्षित दबाब सिर्जना भएपछि राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । ‘त्यहाँ विभिन्न खाले अनपेक्षित दबाबहरु व्यहोर्नु परेको थियो । काम गर्ने मान्छेले स्वतन्त्रतापूर्वक काम गर्न पाउनुपर्छ । निर्वाचन भन्ने कुरा झन् आफैँ स्वतन्त्र हुनुपर्छ । अनेक खाले, अनेक कोणबाट प्रभावहरू आए । मान्छेलाई बिरामी नै बनाउने भएपछि राजीनामा दिएको हो’, उनले भने ।

कस्तो किसिमको दबाब आएको भनेर उनले खुलाउन भने चाहेनन् । पोखरेलले आफ्नो राजीनामा केन्द्रीय निर्वाचन समितिलाई बुझाएका हुन् । राजीनामा दिएर पोखरेल वीरगञ्ज पुगेका छन् । उनले चार दिनअघि नै जिल्ला छाडेका हुन् ।

चितवन कांग्रेसका सभापति श्रेष्ठका अनुसार एमालेका कारण निर्वाचन पछाडि धकेलिएपछि पोखरेलले १५ मंसिरमा मनोनयन पत्र दर्ता गरी १९ मंसिरमा मतदान गर्ने भनि जानकारी गराएका थिए ।

मंगलबार बिहान पार्टीको जिल्ला कार्यसमिति र सभापति पदका आकांक्षीहरूको संयुक्त बैठक बसेर १५ मंसिरमा मनोनयन पत्र दर्ता गराई २१ मंसिरमा मतदान गर्ने निर्णय गरि निर्वाचन अधिकृतसमक्ष सिफारिस गरिएको थियो ।

त्यसलगत्तै निर्वाचन अधिकृत पोखरेलले राजीनामा दिएका हुन् । ‘यस घटनाले हामी अचम्मित एवं गम्भीर आश्चर्यमा परेका छौँ । उक्त राजीनामाले अधिवेशनलाई गम्भीर अन्याेलमा एवं अधिवेशन नै हुन नदिने परिस्थिती सिर्जना गरेको छ’, श्रेष्ठले भनेका छन् । अवरुद्ध भएको जिल्ला सभापतिको अधिवेशनको प्रक्रिया छिटोभन्दा छिटो थालनी गर्न उनले केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन् ।

जिल्ला सभापतिको लागि चितवन कांग्रेसको वर्तमान कार्य समितिका उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बाग्मती प्रदेश सांसद मिलनबाबु श्रेष्ठ जिल्ला सभापतिको लागि दौडमा छन् । त्यसैगरी, राजेश्वर खनाल, प्राडा सूर्यकान्त घिमिरे र विजय भुसाल पनि सभापति पदका आकांक्षी हुन् ।