राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, पदाधिकारीमा कमल थापाको वर्चश्व

राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, पदाधिकारीमा कमल थापाको वर्चश्व



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लिङदेनले अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गरेका हुन् ।

पराजित थापाले नवनिर्वाचित अध्यक्ष लिङदेनलाई वधाई तथा शुभकामना दिँदै पराजय सहर्ष स्वीकार गर्ने बताएका छन् । ‘ प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु, ’ थापाले ट्वीट गरेका छन् ।

मतदानमा लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो ।

पदाधिकारीमा कमल थापाको वर्चश्व
राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा)को पदाधिकारीमा कमल थापासँग प्यानल बनाएर चुनाव लडेका व्यक्तिहरु निर्वाचित भएका छन् । अध्यक्षमा कमल थापा राजेन्द्र लिङदेनसँग दुई सय मतान्तरले हारे पनि अन्य पदाधिकारीमा भने महामन्त्रीबाहेक सबै थापा प्यानलका निर्वाचित भएका छन् । लिङ्देनको टिममा थापा प्यानलको वर्चश्व देखिएको छ ।

राप्रपा उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् । यी सबै थापा समूहका हुन् । पाण्डेको हकमा भने दुबैले आफ्नो प्यानलको दाबी गर्दै आएका छन् । महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक र महिलातर्फ कुन्ती शाही निर्वाचित भएका छन् । धवलशम्शेरमात्रै लिङ्देन प्यानलका हुन् ।