को हुन् कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति बलायर ?

को हुन् कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति बलायर ?



नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन् । प्रदेश अधिवेशन उद्घाटन हुँदासम्म पूर्वभौतिक पूर्वाधारमन्त्री बलायरकाे प्रदेश सभापतिकारुपमा कतै नाम सुनिएकाे थिएन । अधिवेशन उद्घाटनपछि मात्रै उनी सभापतिका लागि चर्चामा आएका थिए । अन्तिममा संस्थापन पक्षले बलायरकै नेतृत्वमा प्रदेश समिति घोषणा गर्‍याे ।

५७ वर्षीय बलायर विद्यार्थीकालमा युवामाझ चर्चित थिए । बीपी कोइरालाबाट प्रभावित उनी २०४९ सालमा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा लडेका थिए । तर पराजित भए । त्यतिबेला उनी त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष थिए ।

बलायर २०४६ सालमा गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा जनआन्दोलनको घोषणा हुँदै गर्दा सभाको सुरक्षा संयोजक बनेका थिए ।

बलायरले २०६४ सालमा संविधानसभाको उम्मेदवार बन्ने मौका पाए पनि पराजित भए ।

२०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसले उनलाई पुनः टिकट दियाे । संविधानसभा सदस्यमा विजयी भएका उनी पार्टी सभापति शेरबहादुर नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए । कांग्रेसको १२औं महाधिवेशनमा नेपाली कांग्रेस डोटी सभापति भएका बलायर १३औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा निर्वाचित भए ।

सन्तनेता कृष्णप्रसाद भट्टराईसँग नजिक रहेर काम गरेका बलायर नेपाली कांग्रेस विभाजनपछि देउवाको पक्षमा उभिएका थिए । त्यसपछि उनी देउवा प्यानलमै रहेर राजनीति गरिरहेका छन् ।