प्रदेश र जिल्लामा काँग्रेस महाधिवेशनको ताजा स्थिति

प्रदेश र जिल्लामा काँग्रेस महाधिवेशनको ताजा स्थिति



काठमाडौं । नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशको निर्बाचन परिणाम घोषणा भइसकेको छ । सोमवार विहानसम्म घोषित अन्तिम परिणाम अनुसार निर्बाचन भएका प्रदेशमा काँग्रेस सभापति शेरबहादुर देउवा पक्षका दुई तिहाई प्रदेश सभापतिले जित हासिल गरेका छन् ।

यसपटकको महावेशनमा काँग्रेस सभापति देउवा र नेता कृष्ण प्रसाद सिटौलाविच चुनावी गठबन्धन भएको छ । काँग्रेस केन्द्रीय निर्बाचन समितिले जनाए अनुसार प्रदेश– १ मा संस्थापन समूह वर्चश्वसहित विजयी भएको छ । संस्थापन समूहका उद्धव थापाले पौडेल–कोइराला समूहका गुरुराज घिमिरेलाई दुई मतले पछि पार्दै जित निकालेका हुन् ।आइतबार विहान घोषित मतपरिणाम अनुसार थापाले आठ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन् । शुरुआतदेखि नै घिमिरेले अग्रता लिएको भए पनि अन्तिम समयमा थापा दुई मतले विजयी भए । यता सबै भन्दा बढी मतदाता रहेको बागमती प्रदेश सभापतिमा पनि संस्थापन समूहकै इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

आइतबार साँझ सम्पन्न मत गणना अनुसार बानियाँ एक हजार ८५ मत पाएर विजयी बने। उनका प्रतिस्पर्धी जगदिश्वर नरसिंह केसीले नौ सय २७ मत प्राप्त गरे । बानियाँ एक सय ५८ मतअन्तरले विजयी बनेका हुन् । आइतबारको मतदानमा बागमती प्रदेशमा २१ सय ५१ मतदाता रहेकोमादुई हजार २५ मत मात्र खसेको थियो । गण्डकी प्रदेश भने संस्थापन इतर पक्षको हातमा गएको छ । काँग्रेसका पुराना नेता शुक्रराज शर्माको नेतृत्वको टिमले एक उपसभापति बाहेक सबै पदाधिकारीजितेको छ । गण्डकी प्रदेश सभापतिमा शर्माले ६ सय १२ मत ल्याए भने उनका प्रतिस्पर्धी अर्जुनप्रसाद जोशीले पाँच सय २८ मत पाए ।

घोषित परिणाम :
– सुदुरपश्चिम, कर्णाली, बागमती, प्रदेश–१ मा संस्थापन हाबी
– लुम्बिनी र गण्डकीमा इतर समूह बलियो
– प्रदेश– २ मा जिल्ला र प्रदेश सभापति चयन हुन बाँकी, महाधिवेशन प्रतिनिधिमा संस्थापन बलियो

लुम्बिनी प्रदेश सभापतिमा पनि संस्थापन इतर समूहका अमरसिंह पुन निर्वाचित भएका छन् । उनी पुनले सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले पराजित गरे । पुनले आठ सय ५२ मत ल्याउँदा शाहले सात सय ६७ मत पाए । पदाधिकारीमा पनि पुन प्यानलकै वर्चश्व रहेको छ ।कर्णाली प्रदेशमा सभापतिसहित सबै पदाधिकारीमा संस्थापन पक्षले ‘क्लिनस्विप’ गरेको छ । कर्णाली प्रदेश सभापतिमा देउवा निकट ललितजंग शाही विजयी भएका छन् ।शनिबार राति सम्पन्न मत गणना अनुसार शाहीले चार सय २२ मत ल्याएर विजयी भएका हुन् । संस्थापन इतरका भुपेन्द्र जंग शाहीले तिन सय १७ मत ल्याए ।

सुदूरपश्चिम प्रदेश सभापतिमा पनि संस्थापन पक्षले ‘क्लिन स्विप’ गरेको छ । संस्थापनबाट सभापतिमा वीरबहादुर बलायर निर्वाचित भए।बलायरले ६ सय ८८ मत ल्याउँदा इतर पक्षका नारायणदत्त मिश्रले दुई सय ८० मत मात्र पाए । सुदुरपश्चिम प्रदेश पदाधिकारीमा पनि सबै संस्थापन पक्षबाटै निर्बाचित भएका छन् । सुदुरपश्चिममा केन्द्रिय निर्बाचन समितिका अनुसार कुल एक हजार २६ जना प्रतिनिधिमध्ये एक हजार तिन जनाले मतदान गरेका थिए ।

देशभरका झण्डै नौ लाख क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गरेर चुनिएका करीब ४५ सय महाधिवेशन प्रतिनिधिले नेतृत्व चयन गर्नेछन् । सर्लाहीबाहेक बाँकी सात जिल्लमा महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । समय अभाव र आन्तरिक समस्या कारण देखाउँदै मधेशका जिल्लामा केन्द्रीय महाधिवेशन पछि मात्रै अधिवेशन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्बाचन परिणामले पर्सा र बारामा देउवा पक्षमा झण्डै दुई तिहाई बढी महाधिवेशन प्रतिनिधि चयन भएको देखाएको छ । मत परिणामले रौतहट, सिरहा, सप्तरी र महोत्तरीमा पनि देउवा पक्षको अग्रता देखिएको छ । सभापतिका दाबेदार रहेका विमलेन्द्र निधिकै गृहजिल्ला धनुषामा पनि देउवा समूहको बलियो उपस्थिति देखिएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आइतबारसम्म करीब ४२ सय महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सर्लाहीका चार र महोत्तरीको एउटा निर्वाचन क्षेत्रमा अधिवेशन हुन बाँकी छ । ती जिल्लामा पनि सोमबारसम्म अधिवेशन सम्पन्न गर्ने कांग्रेसको तयारी छ ।१३औं महाधिवेशनमा देउवा समूहाले २५ जिल्ला सभापति मात्र जितेको थियो । अहिले मधेशबाहेक ६१ जिल्लाको नेतृत्व चयन हुँदा ३२ जिल्लामा देउवा पक्षका सभापति आएका छन् ।

१४ औं महाधिवेशनमा काँग्रेस नेता डा.शशांक र डा.शेखर कोइरालाको गृह प्रदेश–१ का १४ जिल्लामध्ये देउवापक्षले केबल मोरङ, धनकुटा र ओखलढुंगासहित तीनजिल्ला सभापतिमा जित हासिल गरेको थियो । तर अहिले संस्थापन समूहले झापासहित आठ जिल्लाको बहुमत नेतृत्व हात पारेको छ । झापासहित पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला सभापति संस्थापन निकट चयन भएका छन् ।

यता कर्णाली प्रदेशमा पनि १० जिल्लामध्ये संस्थापन समूहले आठ जिल्ला नेतृत्वमा आफ्नो कब्जामा लिएको छ । १३औं महाधिवेशनमा कर्णालीबाट देउवा समूह झण्डै ‘क्लिनस्विप’ भएको थियो । त्यतिबेला हुम्लामा मात्रै देउवानिकट सभापति चयन भएका थिए । अहिले रुकुम पश्चिम, कालीकोट र जाजरकोटमा सर्वसम्मत सभापति चयन भए पनि उनीहरु संस्थापन पक्षका हुन् । दैलेखमा संस्थापन समूहका उम्मेदवार पराजित भएका छन् ।

यता गण्डकी प्रदेशमा पनि संस्थापन पक्षले पहिले भन्दा अहिले अबस्था सुदृढ गरेको छ । मनाङ, गोरखा, तनहुँ, म्याग्दी, पर्वत र स्याङजामा संस्थापन पक्ष बलियो हुँदा मुस्ताङ, बागलुङ, लमजुङ, नबलपुर र कास्कीमा इतर समूह बलियो देखिएको छ । तनहुँ सभापतिमा पौडेलले समर्थन गरेका उम्मेदवार नै पराजित भए छन् । गण्डकीमा संस्थापन र इतर समूह झण्डै बराबरीको अबस्थामा देखिएका छन् । गण्डकी प्रदेश सभापतिमा संस्थापन समूहका उम्मेदवार अर्जुन जोशीलाई इतर समुहका उम्मेदवार शुक्रराज शर्माले ८४ मतले हराएका थिए । अघिल्लो महाधिवेशनमा गण्डकीमा पौडेल समूह निकै बलियो थियो । देउवाको गृह प्रदेश सुदूरपश्चिममा पनि संस्थापन समूहले करीब दुई तिहाईभन्दा बढी महाधिवेशन प्रतिनिधि ल्याउन सफल भएको छ ।