कांग्रेस नेतृत्वमा युवा नेता कति प्रभावकारी बन्लान ?

कांग्रेस नेतृत्वमा युवा नेता कति प्रभावकारी बन्लान ?



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित महत्वपूर्ण पदमा युवा पुगेको भन्दै चर्चा भैरहेको छ । तर युवा भनिने नेताहरु कति पाँच दशक त कतिपय छ दशक उमेर पार गरेका छन् । के नेपाली कांग्रेसबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरु युवा नै हुन् त ?

चिलीका राष्ट्रपतिमा ग्याब्रियल बोरिक निर्वाचित भएपछि नेपालमा उनको चर्चा एकाएक चुलिएको छ । विद्यार्थी आन्दोलनबाट उदाएका बोरिकको चर्चा उनको उमेरलाई लिएर भएको हो । उनी हाल ३५ वर्षका छन् ।

यसअघि फ्रान्सको राष्ट्रपति बनेका एम्यानुयल माक्रोको उमेरलाई लिएर पनि नेपालमा यस्तै चर्चा भएको थियो । करिब चार वर्ष अघि फ्रान्सको राष्ट्रपति बन्दा एम्यानुयलको उमेर ३८ वर्ष मात्रै थियो । कम उमेर अर्थात युवा अवस्थामा राष्ट्रपति हुने एम्यानुयल र बोरिक मात्रै होइनन् । युरोप तथा अमेरिकामा कम उमेरमा राष्ट्रपति र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा पुग्नेहरु धेरै छन् ।

विदेशमा मात्रै नभएर स्वदेशमै पनि विगतमा कम उमेरमै प्रधानमन्त्री बन्नेका उदाहरण प्रसस्तै छन् । वीपी कोइराला प्रधानमन्त्री हुँदा उनको उमेर जम्मा ४४ वर्षको थियो । त्यस्तै नेकपा एमालेका महासचिव मदन भण्डारी पनि ३८ वर्षको उमेरमा पार्टीको महासचिव बनेका थिए ।

पाँचौ पटक प्रधानमन्त्री बनेका ७५ वर्षीय शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदा जम्मा ४८ वर्षका थिए । नेपालको राजनीति र देश हाँक्ने नेताहरु अब अधिकांश देउवाको उमेर हाराहारीमा चल्दै छन् ।

यही बीचमा हालै सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनबाट नेतृत्व युवाहरु पुगेको चर्चा भइरहेको छ । नेतृत्वमा पुगेका युवाले पार्टीलाई मात्रै नभएर देशलाई हाँक्न सक्ने आम अपेक्षासमेत छ । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई युवाको पगरी भिराइएको छ । विश्वप्रकाश शर्मा अहिले ५१ वर्षको भए भने गगन थापा ४५ वर्ष नेटो काटिसकेका छन् ।

उपसभापतिमा निर्वाचित धनराज गुरुङ पनि ५६ वर्ष पुगिसके । पदाधिकारीबाहेक केन्द्रीय समितिमा पनि युवाको सहभागिता बढेको भनिएको छ । केन्द्रीय सदस्यमा निर्वाचित नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाको उमेर नै पाँच दशक पूरा भएको छ ।

केन्द्रीय समितिमा निर्वाचित सबैभन्दा कान्छा सदस्य कुन्दनराज काफ्लेको उमेर नै ३८ वर्ष पुगी सकेका छन् । तर उमेर ६ दशक नेटो कोटिर बुढ्यौलीले छपक्कै छोप्दा पनि नेपालमा राजनीतिकर्मीलाई युवा नेताका रुपमा प्रचार गरिँदै आइएको छ ।

अन्तराष्ट्रिय मान्यता अनुसार २९ वर्ष मुनिको उमेर समूहलाई युवा मानिन्छ भने नेपालको हकमा ४० वर्ष तल उमेर भएकालाई मात्रै युवा मानिने गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित नैनसिंह महर पनि नेपाली कांग्रेसको केन्द्रीय समितिमा युवाको उपस्थिति नभएको स्वीकार गछन् ।

नेपालमा उमेर जति भए पनि सोचमा र परिवर्तनका लागि जोश हुने जो कोही युवा हुने तर्क राजनीतिककर्मीले गर्दै आएका छन् । महरले पनि सोही कुरा दोहोए ।

नेताहरुले जे भने पनि जीवन विज्ञानमा उमेरको महत्व आफ्नै छ । उमेर ढल्केपछि मान्छेको जोश जाँगरमा कमी आउनु स्वभाविकै हो । उमेरले दैनिक व्यवहारमा पनि परिवर्तन हुँदै जाने कुरा विज्ञानले पुष्टि गरिसकेको विषय हो ।