‘बालिग’ उमेरको फिल्ममा सेन्सर नगर्ने युएईको घोषणा

‘बालिग’ उमेरको फिल्ममा सेन्सर नगर्ने युएईको घोषणा



संयुक्त अरब इमिरेट्स(युएई)ले अबदेखि बालिग उमेरको लागि बनाइएको फिल्ममा सेन्सर नगर्ने घोषणा गरेको छ । उसले थिएटरमा अन्तर्राष्ट्रिय फिल्मको स्क्रिनिङ २१ प्लस एज रेटिङ अर्थात २१ वर्ष भन्दा बढी व्यक्तिको रेटिङका साथ हुने उल्लेख गरेको छ ।

देशको संस्कृति एवं युवा मन्त्रालयका मिडिया नियामक कार्यालयले डिसेम्बर १९ देखि थिएटरमा २१ प्लसको एज रेटिङको फिल्म प्रदर्शन हुने र २१ वर्ष बढी उमेरका व्यक्तिले फिल्म हेर्न सक्ने जनाएको छ । यो निर्णयसँगै फिल्मको अन्तर्राष्ट्रिय संस्करणलाई थिएटरमा देखाइनेछ भने यस्ता फिल्म हेर्न आउने दर्शकको उमेरको चेकजाँच गरिनेछ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यो फैसलाको अर्थ वयस्कका लागि बनाइएका फिल्मको सम्पादन र अनुचित दृश्यलाई सेन्सर गर्नुको सट्टा फिल्मका लागि तोकिएको उमेर हदलाई समर्थन गर्दै २१ वर्ष उमेर माथिका दर्शकलाई बिना काटछाँट फिल्मको वास्तविक रुप देखाइनेछ ।

युएईमा विदेशका फिल्महरु प्रायः प्रदर्शनमा आए पनि वयस्कसँग जोडिएका दृश्यलाई भने काटेर देखाइन्छ । यहाँ हालसम्मको सबैभन्दा ठूलो उमेरको रेटिङ १८ वर्ष थियो । जसअनुसार फिल्मको रिलिज हुन्थ्यो ।

सन् २०१८ मा सरकारले मनोरञ्जन सामाग्रीको एक विस्तृत श्रृंखलाका लागि उमेर रेटिङ अनिवार्य गरेको थियो । यसमा पुस्तक र भिडियो गेम पनि पर्दथे । युएईको सरकारलाई परम्परागत रुपले रुढीवादी मानिए पनि खाडी मुलुकमा युएई सबैभन्दा आधुनिक देश हो र यहाँ अन्य धर्महरु र परम्पराको सम्मान गरिन्छ ।

युएईमा पहिलोपटक सन् २०१४ मा हलिउड फिल्म ‘द वुल्फ अफ वाल स्ट्रीट’ देखाइएको थियो । त्यो समयमा यो फिल्मको करिब २५ मिनेटको दृश्य हटाइएको थियो ।