करण जौहरको नयाँ कलाकारलाई कटाक्षः बक्स अफिसमा जिरो, पारिश्रमिक करोडौं

करण जौहरको नयाँ कलाकारलाई कटाक्षः बक्स अफिसमा जिरो, पारिश्रमिक करोडौं



काठमाडौं । बलिउडका प्रतिभाको कुरा गर्ने हो भने फिल्म मेकिङमा करण जौहरको नाम सबैभन्दा अगाडि आउँछ । फिल्म मेकिङमा उनले आफूलाई प्रमाणित गरिसकेका छन् ।

करणले ९० दशकको समयमा ‘कुछ कुछ होता हे’, ‘कभी खुशी कभी गम’ र ‘माई नेम इज खान’ जस्ता फिल्म दिइसकेका छन् । यसबाहेक उनले स्टार किड्स र नयाँ अनुहारलाई फिल्म उद्योगको अवसर दिइरहेका छन् । जसमा वरुण धवन, आलिया भट्ट, अनन्या पाण्डे, सिद्धार्थ मल्होत्रा र जाह्नवी कपूर जस्ता नाम अगाडि आउँछन् ।

अहिले करण नयाँ पुस्ताका सन्तानलाई फिल्म उद्योगको हिस्सा बनाउने योजना बनाइरहेका छन् । तर उनी नयाँ पुस्ताको मागप्रति चिन्तित छन् । नयाँ पुस्ताका कलाकारहरूले निर्मातालाई मोटो रकम पारिश्रमिक माग्न थालेपछि करण उनीहरुको कार्यशैलीप्रति रुष्ट छन् ।

‘बिजनेस मेगास्टार र ए–लिस्टर्स लिएर आउन् । तर नयाँ र युवापुस्ताका अनुहारले मोटो रकम पारिश्रमिकको माग गरेको देख्दा म चकित छु । कोरोना महामारीपछि कलाकारले चर्को पारिश्रमिक माग्न थालेका छन् । उनीहरूले पछिल्लो फिल्म नचलेपछि पारिश्रमिक बढाएको मसँग बताउने गरेका छन् । केही फिल्म रिलिज नै भएका छैनन्’, करण भन्छन् ।

करणको बुझाईमा नयाँ पुस्तालाई बक्स अफिसमा आफूलाई प्रमाणित गर्न बाँकी नै छ । त्यसका बाबजुद पनि उनीहरु २० देखि ३० करोड पारिश्रमिक मागिरहेका छन् । ‘उनीहरूलाई फिल्मको रिपोर्ट कार्ड देखाउनुपर्छ । अनि ‘हेल्लो, हेर, तिम्रो फिल्मको ओपनिङ यति भएको छ र तिमी मसँग यति करोड माग गर्छौ’ भन्ने अवस्था आएको छ । बक्स अफिसमा जिरो छन्, पारिश्रमिक चाहिँ करोडौं माग्छन्’, करण अगाडि भन्छन् । करणका अनुसार उनी राम्रो फिल्म बनाउनेलाई डलरमै रुपैंयाँ दिन तयार छन् ।

करण पाँच वर्षपछि फिल्म निर्देशन गर्दैछन् । उनले पछिल्लोपटक ‘ये दिल है मुस्किल’ निर्देशन गरेका थिए ।