–विष्णु पन्थी–
वीपी कोइराला २०३३ साल पुस १६ गते आफ्ना साथीहरु गणेशमान सिँह, शैलजा आचार्य, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थी र खुमबहादुर खड्कालाई साथमा लिएर ‘राष्ट्रिय मेलमिलाप नीति’ अवलम्बन गर्दै भारत निर्वासनबाट स्वदेश फर्कनु भएको थियो ।
त्यसबेलाको राजनीतिक शक्ति सन्तुलनमा आफू र तत्कालिन राजालाई नेपालको प्रजातान्त्रिक र राष्ट्रवादी शक्तिको रुपमा चित्रण गरिएको छ । आफ्नो र राजाको सहयात्राको प्रस्ताव नै ‘राष्ट्रिय मेलमिलाप’ थियो । राजासँग मुठभेढ नगर्ने तर व्यवस्थालाई स्वीकार नगर्ने नीतिका साथ वीपी स्वदेश फर्कनु भयो ।
नेपाली काँग्रेसको मूल सिद्धान्त राष्ट्रियता र प्रजातन्त्रको व्यवहारिक प्रयोगको लागि वीपीको यो प्रयास भएको थियो । २०१७ साल पुस १ गतेको घटना वास्तवमा राजा र वीपी वीचको अन्तर्द्वन्द्वका कारण नै उब्जिएको भन्ने त्यसवेलाका राजनीतिज्ञ डा. तुलसी गिरीहरुको भनाइ पनि रहँदै आएको थियो । यसको अर्थ तुलसी गिरी पथमा वीपीको यात्रा प्रारम्भ भएको भन्ने चाहिं होइन ।
तत्कालीन नेपाली काँग्रेसले पञ्चायत विरुद्ध सशस्त्र विद्रोह जारी गरेकै बेला वीपी कोइरालाले मेलमिलापको नीति लिनुका पछाडि राष्ट्रिय राजनीतिको स्वाभिमान यात्रा जोडिएको छ । भारतकी तत्कालीन प्रधानमन्त्री ईन्दिरा गान्धीले नेपालमा प्रजातन्त्र पुनर्वहालीका निम्ति जुन चासो र सहयोग पुर्याउनु पर्ने हो त्यो नपुर्याएको प्रष्ट नै थियो । नेपाली काँग्रेसका नेता सरोजप्रसाद कोइरालालाई नेपालको बोर्डर नजिकै भारतको भूमिमा २०३० कार्तिक ३० गते मारिएको थियो । केशव कोइरालालाई २०३१ श्रावण ३१ गते गते नेपाल-भारत बोर्डर महोत्तरीको मटिहानीमा मारियो । त्यति बेलै वीपी कोइराला भारत नबस्ने मुडमा हुनहुन्थ्यो भन्ने कुरा वहाँका तत्कालीन अभिव्यक्तिहरुबाट नै बुझ्न सकिन्छ ।
अफगानिस्तानमा शुरू भएको उथलपुथल, पाकिस्तानबाट वंगलादेश अलग भएको अवस्था, इन्दिरा गान्धीको शंकास्पद क्रियाकलाप आदिबाट वीपी कोइरालामा गम्भिर राजनीतिक चेत खुलेको देखिन्छ । नेपालका पञ्चहरु राजालाई गुमराहमा राखेर जनताका पक्षमा काम गरेको सन्देश राजासम्म पुर्याइरहेका थिए । प्रजातान्त्रिक नेतृत्वलाई बाहिरै बस्ने स्थिती सिर्जना गरेर त्यस बेलाका पञ्चहरुले राजा र प्रजातान्त्रिक शक्तिवीच संवाद नै नगराउने अवस्था सिर्जना गरिरहेका थिए । वीपी कोइरालाको “टावरिङ पर्सनालिटी”का कारण भारत पनि इर्ष्याभावमा थियो । त्यसको प्रत्यक्ष अप्रत्यक्ष फाइदा पञ्चहरुले उठाएका थिए ।
वीपी कोइरालालाई कमजोर बनाउँदै लैजाने, नेपाली काँग्रेस पार्टीलाई प्रतिवन्धित गर्ने र प्रजातान्त्रिक शक्तिलाई हतोत्साहित गर्ने काम त्यसबखत तिव्र रुपमा भएको थियो । तथापि नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराई आफ्नो राजनीतिक अडानका कारण वीपी कोइराला भन्दा करिब डेढ बर्ष बढी जेल बस्नुभएको थियो र २०२६ चैत्रमा जेलमुक्त भएपछि पनि नेपालमै बसेर प्रजातन्त्तका पक्षमा संघर्ष गर्ने अठोटका साथ स्वदेशमै बस्नुभएको थियो । त्यसपछि पनि नेपालमै पटक पटक जेल जीवन विताउनुभयो ।भट्टराईले नेपालमा १४ बर्ष जेलजीवन विताउनुभएको थियो । वहाँ नेपालमा नै बसेर प्रजातन्त्रको दियो बालिरहनुभएको थियो । एक अर्थमा भन्नुपर्दा वीपी कोइराला कृष्णप्रसाद भट्टराईको अडानमै सहमत भएर ०३३ सालमा स्वदेश फर्केको भन्न सकिन्छ । फलतः २०३४ को नेपाली काँग्रेसको पटना सम्मेलनबाट भट्टराई नै पार्टीको कार्यवाहक सभापति बन्नुभयो । त्यसपछिका दिनमा नेपाली काँग्रेसले हरेक जिल्लामा आफ्ना संगठनहरु विस्तार पनि गर्यो । वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता मूर्धन्य नेताहरु नेपालमा नै बसेर संघर्ष गर्नुभयो । जेल जीवन बिताउनुभयो । व्यवस्थाका खिलापमा दबाब सिर्जना गर्नुभयो र त २०३६ सालमा जनमत संग्रहको घोषणा भयो ।
जनमत संग्रहमा प्रञ्चायतले धाँधली गरेर ‘बहुदल’का खिलापमा जितेको घोषणालाई वीपी कोइरालाले स्वीकार गर्दै भन्नुभयो, ‘आगामी दशबर्ष भित्र अहिंसात्मक र नैतिक दबाब र आन्दोलनबाट नै पञ्चायत समाप्त हुनेछ ।’ वीपीको उद्घोष कामियाव भयो । फलस्वरुप २०४६ सालमा पञ्चायती व्यवस्था खत्तम भयो ।
वीपी कोइरालाको राष्ट्रिय मिलमिलापको नीति राष्ट्रिय राजनीतिमा शक्तिहरुवीचको सन्तुलन, यथार्थको स्वीकार, अहिंसा, भद्रअवज्ञा र नैतिक साहस प्रदर्शन थियो ।
निरङ्कुशताको जंजिरबाट जनतालाई मुक्त गराउने, प्रजातन्त्रको संस्थागत विकास गराउने कार्यमा सक्रिय संसारका सबैजसो राजनेताहरु यस्तै प्रतिशोधविहीन उदात्त राजनीतिक कर्मका कारण नै अजेय भएका छन् । उदाहरणीय र अनुकरणीय बनेका छन् । महात्मा गान्धीको अहिंसात्मक आन्दोलन, नेलशन मन्डेलाको त्यागपूर्ण जेलजीवन, प्रतिशोधरहित शासन, अव्राहम लिंकनको उदार राजनीतिक सन्देशसँग तुलना गर्न सकिने वीपी कोइरालाको यो कदम र चरित्रले नेपाली राजनीतिमा गहिरो प्रभाव पारिरहेको छ ।
सिद्धान्तको व्यवहारिक प्रयोग हुन नसक्दा नै राजनीति विसंगत हुन्छ र जस्तो सुकै असल सिद्धान्त भए पनि व्यवहारमा तादात्म्य भएन भने त्यो अर्थहीन हुन्छ ।
वीपी कोइरालाको यो मेलमिलापको नीतिको चर्चा भइरहँदा अहिले नेपालको राष्ट्रियता र प्रजातन्त्रको मौलिक विकास हुन सकेको छ कि छैन भनेर प्रश्न गर्नुपर्छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा वीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिँहका उत्तरकालीन जीवनका अभिव्यक्ति र क्रियाकलापसँग त्यसपछिको प्रजातान्त्रिक नेतृत्व हिड्न नसकेको भन्ने एकाथरी टिप्पणी भइरहँदा नेपालको राजनीतिक शक्ति सन्तुलन पहिलेको भन्दा फरक छ । राजनीतिक समीकरण फेरिएको छ भन्ने राजनीतिक दृष्टिकोणलाई राष्ट्रियता र प्रजातन्त्रको मौलिक विकासको कसीमा परीक्षण भइरहेको छ ।
आज नेपालमा राजसंस्था छैन । राजा छैनन् । त्यो नीति बोक्ने वीपी कोइरालाको पार्टी गणतन्त्र अंगिकार गरेको छ । प्रजातान्त्रिक शासन व्यवस्थाको मोडेलमा परिवर्तन भएको छ । नेपाली काँग्रेसको यथावत् आदर्श र सिद्धान्त राष्ट्रियता र प्रजातन्त्रको सामयिक विकासमा वीपी कोइरालाको यो नीति कहाँनेर सान्दर्भिक छ ? नेपाली काँग्रेस गणतन्त्रकालमा पनि वीपी कोइरालाको ०३३ सालको नीतिको विषयमा राष्ट्रिय मेलमिलाप दिवस मनाइरहेको छ । यो दिवस सोही रुपमै मनाउने काँग्रेसको नीतिलाई अर्थपूर्ण भन्ने कि अन्यथा रुपमा लिने?
नेपालमा भएका राजनीतिक परिवर्तनले नेपाली जनताको जीवनस्तर र राजनीतिक चेतनामा नैतिकताको विस्तार गर्न नसकेको सर्वत्र गुनासो भइरहँदा परिवर्तनबाट उल्लसित हुनुपर्ने स्थिती भने छैन ।
वीपी कोइरालाको उक्त मेलमिलापको नीतिमार्फत उनमा भएको आत्मस्वीकृति, राष्ट्रिय राजनीतिमा बाह्य हस्तक्षेप असह्य, घरेलु राजनीतिक शक्ति वीचको एकता जस्ता विषय स्पष्टसँग बुझ्न सकिन्छ । वर्तमान राजनीतिमा परेको बाह्य प्रभाव, आत्मस्वीकृति वा यथार्थ स्वीकारको अभाव, घरेलु राजनीतिक शक्तिहरुवीचको एकताको अभावले नेपालको प्रजातन्त्रको संस्थागत विकासमा पीडा दिएको यस अवस्थामा राष्ट्रिय मेलमिलापको चर्चा सम्म मात्र गराउनुले पनि एउटा अर्थ राख्न सक्दछ । एक प्रजातान्त्रिक शक्ति र अगुवा हुनुको नाताले नेपाली काँग्रेसले यसबारे गम्भीर बहस र छलफल चलाउनु उचित नै देखिन्छ ।
{पन्थी राजनीतिक विश्लेषक हुनुहुन्छ ।}
प्रतिक्रिया