रिजाल फुड्सको उत्पादन अमेरिकासम्म निर्यात

रिजाल फुड्सको उत्पादन अमेरिकासम्म निर्यात



चितवन । विसं २०४४ मा फलामे कराईमा भुटेर साइकलमा बिक्री गर्ने दालमोठ उद्योगमा अहिले अत्याधुनिक मेसिनबाट उत्पादन गरेर अमेरिकासम्म पुग्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । रत्ननगर नगरपालिका–३ स्थित रिजाल फुड्स एण्ड वेभरेजेज प्रालिले उत्पादन गरेको दालमोठलगायत उत्पादन अहिले विश्वबजारसम्म पुग्ने गरेको छ ।

तत्कालीन समयमा पूर्वी नेपालमा अनुभव सँगालेर यहाँ आएका राजेन्द्रप्रसाद रिजालको परिवारले सुरु गरेको यो उद्योगले अहिले ८२ प्रकारका तयारी खानेकुरा उत्पादन गर्दै आएको छ । विगतको स्मरण गर्दै रिजालले भने, “कराईमा भुटेर प्याक गरेर, साइकल, रिक्सामा गाउँगाउँ पु¥याएर बिक्री गथ्र्यौँ ।” बजारका केही व्यापारीको मागअनुसार दालमोठ बनाएर दिने गरेको उनको अनुभव छ ।

धनकुटाबाट मोरङको सलकपुरमा बसाइँ सरेको रिजाल परिवारका जेठा छोरा राजेन्द्रले उर्लाबारीस्थित काकाको दालमोठ उद्योगमा पढ्दै चार वर्ष कामको अनुभव लिए । त्यहाँको उत्पादन आउने चितवनको बजारमा आफँैले उद्योग खोल्ने रहर उनमा जाग्यो । बुवा अन्जनीप्रसादले सरसापट गरेर दिएको रु ६ हजारले उनले ज्वाइँसँग मिलेर रत्ननगरमा शान्ता कमल दालमोठ उद्योग सञ्चालन गर्न थाले । उनले बैंकको सहयोगमा उद्योगलाई थप विस्तार गर्दै अगाडि बढाए ।

ब्राण्डलाई महत्व नदिई बिक्रीलाई मात्रै हेर्दै आएका रिजालले भाइ पुरुषोत्तम र अच्युतको परिवारसहित रिजाल ब्राण्डमा उत्पादन थाले । ज्वाइँको घर रहेको रत्ननगरको लौरीघोलबाट सुरु भएको यो उद्योग विभिन्न ठाउँमा सर्दै अहिले रत्ननगरकै बेल्सीमा आफ्नै जमिनमा बनेको भवनमा सञ्चालन हुँदै आएको छ ।

एकै परिवारका तीन दाजुभाइका श्रीमती, छोरा, छोरी र बुहारी यसै उद्योगमा आफ्नो सीप र क्षमताअनुसार काम गर्दै आएका छन् । सबैको अभिभावकत्व बुवा अन्जनीले गर्दै आएका छन् । माइला भाइ पुरुषोत्तमले भने, “हामीले अहिले पारिवारिक कर्पोरेट व्यवसाय गरिरहेका छौँ ।” परिवारभित्रै मिलेर काम गर्न सकिन्छ भन्ने उदाहरण दिएको उनी बताउँछन् ।

सुरुका दैनिक २५ किलो दालमोठ उत्पादन गर्ने यो उद्योगमा अहिले आधुुनिक उपकरणबाट दैनिक आठ टनभन्दा बढी उत्पादन गर्दै आएको छ । उद्योगमा ८२ प्रकारका दालमोठजन्य उत्पादन गरिन्छ । दालमोठमात्रै २० प्रकारका छन् भने तीनथरि आलुचिप्स, चारथरि भुजिया र १० थरि फुरनदाना उत्पादन हुन्छन् । यस्तै मुमको दाल, नट क्र्याकर, बदाम, कन्फ्लेक्स, भटमास, मटर फ्राइजस्ता तयारी उत्पादन यस उद्योगले गर्दै आएको छ ।

पुरुषोत्तमका अनुसार ७४ जिल्लास्थित डिलरमार्फत देशभित्र मात्रै होइन विदेशका हङ्ककङ, अमेरिका, अष्ट्रेलिया र जापानमा पनि सामग्री पुग्ने गरेको छ । खाडी मुलुकमा यो उत्पादन पु¥याउने तयारीमा रिजाल परिवार जुटेको छ । अहिले बैंकसहित रु १० करोडभन्दा बढी लगानी रहेको उद्योगमा २०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । भारतमा बनेको खियारहित आधुनिक मेसिन उद्योगमा जडान छ । दाउरामा पकाउने गरिन्छ । पुरुषोत्तमले भन, “डिजल, कोइलालगायतका इन्धनलाई हामीले निरुत्साहित गरेका छौँ, वातावरणमैत्री बनाउन हाम्रो जोड छ ।” कसैले गाउँघरमै गुइँठा बनाएर दिए त्यसको प्रयोग गर्ने उहाँको भनाइ छ ।