एमालेको ओरालो यात्रा सुरु‍‍‍

एमालेको ओरालो यात्रा सुरु‍‍‍



काठमाडौं । संसदको पहिलो दल नेकपा एमालेको ओरालो यात्रा शुरु भएको छ । पार्टी विभाजनपछि क्षति बेहोरेको एमालेले विभाजनको असर संसदको माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचनमा पहिलो पटक देखाप-यो । संसदभित्रको अंकगणितमा सत्तागठबन्धनबीच सहकार्य बलियो बन्दा संसदीय राजनीतिमा एमालेलाई साख जोगाउन मुस्किल पर्ने देखिएको छ ।

राष्ट्रियसभामा १९ स्थानका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनको पल्लाभारी हुँदा अन्य निर्वाचनहरुको पनि विश्लेषण सुरु भएको छ । सत्तागठबन्धन कायमै रहे राष्ट्रियसभा मात्र होइन आगामी संसदीय र स्थानीय निर्वाचन पनि एमालेका लागि सहज नहुने पक्काजस्तै देखाएको छ ।

यो परिणामसँगै सत्ता गठबन्धन हौसिएको छ । सबैजसो प्रदेशमा गठबन्धनले प्रमुख प्रतिपक्षी दल एमालेलाई पराजयको मुखमा धकेल्यो । निर्वाचन परिणामले सबैभन्दा बढी खुशी एमालेबाट अलग्गिएर बनेको एकीकृत समाजवादी देखिन्छ ।

राष्ट्रिय सभामा सुरुको निर्वाचनमै एमाले पहिलो दलको रुपमा २७ सिटसहित राष्ट्रिय सभामा थियो । पछि माओवादीसँग एकतापछि ५९ सदस्यीय राष्ट्रियसभामा तत्कालिन नेकपाको ४७ सिट कायम भयो । पछि नेकपाबाट एमाले र माओवादी अलगिए।

एमाले पनि विभाजित भएर एकीकृत समाजवादी बन्दा राष्ट्रियसभामा एमालेको २३, माओवादीको १३ र एकीकृत समाजवादीका र कांग्रेसको ७–७ सांसद छन् । त्यस्तै लोकतान्त्रिक समाजवादीको १ र राष्ट्रिय जनता पार्टीबाट २ सांसद छन् ।

पार्टी विभाजनपछि राष्ट्रिय सभामा करिब दुई तिहाईको हैसियतबाट पहिलो दलमा सीमित एमालेले राष्ट्रियसभाका आफ्नै सिट पनि गुमाएको छ। फागुन २० मा एमालेका ८, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४ र कांग्रेसका ३ गरी १९ सदस्यको पदावधि सकिने भएपछि बुधबार ती स्थानमा निर्वाचन भएको हो ।

सत्तागठबन्धनले जुन पार्टीबाट निर्वाचित भई रिक्त हुने हो ती स्थान सोही दलका लागि सुरक्षित गर्दै एमालेले छाड्नुपर्ने ८ सिटको बाँडफाँट गरेको थियो । एमालेले जितेका ८ सिटमध्ये कांग्रेसले ३, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एक÷ एक, जसपालाई २ र राष्ट्रिय जनमोर्चाले १ सिट पाए। जसपाले पाएको दुई सिटमध्ये एउटामा एमाले विजयी भयो ।

मतदाताको अंकभार हेर्दै निर्वाचनको परिणाम प्रष्ट भएकाले एमालेले आफ्नो स्वभाविक हार भएको प्रतिक्रिया दिएको छ । तर, अन्य निर्वाचनमा यसको असर नपर्ने एमालेको दाबी छ ।