शेयर बजारमा नियामक निकाय किन अस्थिर ?

शेयर बजारमा नियामक निकाय किन अस्थिर ?



काठमाडौं । नेपालमा डिम्याट खाता खोल्नेको संख्या झन्डै ५० लाख पुगेको छ । डेढ वर्ष अघिसम्म अधिकांश नेपालीका लागि अनजान रहँदै आएको शेयर बजार अहिले आकर्षण र अवसरको केन्द्र बन्न थालेको छ । बढ्दो बजार र छिटो नाफा आर्जन गर्न सक्ने भएकाले पनि यसप्रति आकर्षण चुुलिएको हो । तर, बेलाबेला हुने नियामक निकायको नीतिगत अस्थिरताले नेप्से परिसूचक घटेसँगै लगानीकर्ता पनि निरुत्साहित हुने गरेका छन् ।

सिडिएस एण्ड क्लियरिङका अनुसार चालू आर्थिक वर्षको माघ १५ गतेसम्म डिम्याट खाता खोल्नेको संख्या ४८ लाख ३० हजार ४७५ पुगेको छ । चालू आर्थिक वर्षको साढे ६ महिनामा मात्र डिम्याट खाता खोल्नेको संख्या १३ लाखले वृद्धि भएको छ ।

२०७७ साल असारसम्म त यस्तो खाता खोल्नेको संख्या १६ लाख ८६ हजार १०२ मात्र थियो । त्यस्तै, मेरो शेयरको प्रयोगकर्ता पछिल्लो असारसम्ममा २६ लाख रहेकोमा हाल ३९ लाख ४० हजार ३५१ पुगेको छ । यो संख्या अनुसार मासिक लाखौँको संख्यामा मानिसहरु पुँजी बजारमा प्रवेश गर्दै छन ।

कोरोना भाइरसले अर्थव्यवस्थाको गति ठप्प बनाएका वेला पछिल्लो एक वर्षमा मात्रै शेयर बजारमा लगानीकर्ताहरुको सम्पत्ति करिब ६ खर्ब ३९ अर्ब ५८ करोड रुपैयाँ थपिएको छ । २०७८ साउन ३१ गते एकै दिन २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो । यस्तै २०७८ भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा अर्थात ३ हजार १९८ विन्दुमा पुगेको थियो । अहिले परिसूचक २ हजार ७ सय विन्दुमा झरेको छ ।

पूँजीबजारलाई सामान्यतः अर्थतन्त्रको अवस्था नाप्ने ‘ब्यारोमीटर’ मानिन्छ । यसलाई देशको अर्थतन्त्रको ऐनाका रूपमा हेरिन्छ । शेयर बजारमा बढ्दो आकर्षणले पुँजी बजारलाई नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने चुनौती नियमक निकाय सामु आएको छ । यसका लागि नीतिगत अस्थिरता हटाउनुपर्ने जानकार बताउँछन् ।

उच्च, मध्य र निम्न सबै वर्गका बजारमा आकर्षण छ । तर यो आकर्षण कहिलेसम्म कायम रहन्छ, त्यो नियामकको नीति र बजारको ट्रेनले नै निदिष्ट गर्ने जानकार बताउँछन् ।