एमसीसी पारित गर्न सबै दलको साथ रहने कांग्रेसको विश्वास, महाभियोग प्रस्तावमा माग्यो अन्य दलसँग सहयोग

एमसीसी पारित गर्न सबै दलको साथ रहने कांग्रेसको विश्वास, महाभियोग प्रस्तावमा माग्यो अन्य दलसँग सहयोग



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भाेलि बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल हुनेमा विश्वस्त रहेकाे बताएका छन् । कांग्रेस महामन्त्री गगन थापाले भने – ‘मैले सभामुखसँग यस विषयमा परामर्श गरेको छु र म भोलि टेबुल हुन्छ भन्ने कुरामा विश्वस्त छु भनेर सभापतिज्यूले भन्नुभएको छ ।’

कांग्रेसले प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराविरुद्धको महाभियोग प्रस्तावमा अन्य दलको पनि सहयोग माग गरेको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले जबराविरुद्धको महाभियोग सफल बनाउन अन्य दलहरुको सहयोग मागेको हो । महामन्त्री थापाले प्रस्तावलाई संसदबाट पारित गर्न अन्य राजनीतिक दलका सवै सांसदहरुलाई आह्वान गरेको जानकारी दिए ।

‘संसदमा रहेका हामी हस्ताक्षर गर्नेबाहेक अन्य राजनीतिक दलसँग सम्वद्ध भएका सांसदहरुले पनि यो महाअभियोग उपयुक्त भएकाले गर्दा यसलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएका छौँ,’ उनले भने, ‘प्रस्तावलाई संसदबाट पारित गर्न हामीले अन्य राजनीतिक दलका सवै सांसदहरुलाई आह्वान गरेका छौँ ।’

आइतबार सत्ता गठबन्धनका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । यसलाई पारित गर्न दुई तिहाई मत आवश्यक पर्छ । यसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समर्थन आवश्यक छ । तर, एमालेले जबराविरुद्धको महाभियोगमा समर्थन गर्न नसकिने बताउँदै आएको छ ।