काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)का विषयमा राजनीतिक दलहरूले द्वै्रध चरित्र देखाउन नहुने बताएको छ । सानेपास्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीबारे राजनीतिक दलको द्वैध चरित्रले देशलाई हित नगर्ने बताए ।
एमसीसीसँग सबै राजनीतिक दल जोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले एमसीसी देशको हितमा रहेको र यसबारे फैल्याएको निराधार हल्लाको पछि नलाग्न सबैमा आग्रह गरे । एमसीसी लागु भएमा अमेरिकी सेना आउने हल्ला निराधार रहेको भन्दै नेता महतले नेपालकै कानुनको परिधिमा रहेर एमसीसी परियोजनाबाट आउने रकम विद्युत् प्रसारण लाइन निर्माण र सडक निर्माणमा खर्च हुने जानकारी दिए ।
कांग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सहित सबै राजनीतिक दल एमसीसीसँग जोडिएको र पक्षमा रहेको जानकारी दिँदै उनले द्वैध चरित्र नदखाई अनुमोदन गर्नु आग्रह गरे । एमसीसीबारे नियोजित रूपमा हल्ला फैल्याइएको भन्दै उनले भ्रममा नपरी अनुमोदन गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया