एमसीसीको विरोध गर्नेहरु सरकारमा बस्न मिल्दैन : पूर्व प्रधानमन्त्री भट्टराई

एमसीसीको विरोध गर्नेहरु सरकारमा बस्न मिल्दैन : पूर्व प्रधानमन्त्री भट्टराई



काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्नेहरु सरकारमा बस्न नमिल्ने बताएका छन् । उनले एउटै सरकारमा एमसीसीको समर्थन र विरोधीहरु बस्न नमिल्ने बताएका हुन् ।

सरकारले बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको छ । तर सत्तागठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोध गर्दै आएका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् । जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री भट्टराईले सत्ताको लाभ लिने तर सरकारको कार्यक्रमकै विरोध गर्न नमिल्ने बताए ।

‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन–सरकारमा बस्न मिल्दैन’, भट्टराईले ट्वीटरमा भनेका छन्, ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन।’

उनले एमसीसी परियोजनासँग असहमत हुनेले सरकारबाट बाहिरिनु उचित हुने बताए । ‘भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो’ उनले भने ।