सत्तारुढ गठबन्धनमा एमसीसीकाे पक्षमा कांग्रेस एक्लै

सत्तारुढ गठबन्धनमा एमसीसीकाे पक्षमा कांग्रेस एक्लै



काठमाडौं, ४ फागुन । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता संसदबाट अनुमोदन गराउने सम्बन्धमा नेपाली कांग्रेस एक्लिएको छ । सत्तारुढ गठबन्धनमा रहेका अन्य चार दलले समेत एमसीसी अनुमोदन गराउने विषयमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई साथ नदिने भएका छन् ।

गठबन्धन दलले नै साथ नदिएछि एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा कांग्रेस एक्लीएको हो । काग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदनको लागि संसदमा टेवल गर्न प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई अनुमति दिएको थियो ।

सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरिरहेको छ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेपाल र राष्ट्रिय जनमोर्चाले यथास्थितीमा एमसीसी पास गर्न नदिने जनाउँदै विरोधमा उत्रेका छन् ।

सत्तारुढ दलमध्ये माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीका केही बुँदा राष्ट्रघाती भएको जनाउँदै संशोधन नगरी पास नगर्ने बताएका छन् । जसपा भित्र एमसीसीलाई लिएर एकमत छैन ।

माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका भातृ संगठनले त पछिल्ला दिन दिनहुँ एमसीसीको विरुद्धमा विरोध कार्यक्रम गर्दै आएका छन् । जसपा भित्र अध्यक्ष उपेन्द्र यादव पक्ष एमसीसीको विरोधमा छ भने बाबुराम भट्टराई पक्ष अहिलेकै अवस्थामा ढिला नगरी अनुमोदन गर्नुपर्छ भन्नेमा छन् ।

‘गठबन्धनमा सहमति नभए अर्को प्रक्रिया सुरु हुन्छ । अर्को प्रक्रियाका बारेमा कांग्रेसले आवश्यक निर्णय लिनेछ,’ नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले भने । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एमसीसीका विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन । सरकारले पहिला एमसीसीका बारेमा औपचारिक धारणा सार्वजनिक गरेपछि मात्र एमालेले आफ्नो धारणा बाहिर ल्याउने जनाउँदै आएको छ ।

प्रतिनिधिसभामा एक जना मात्र सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमसीसीको विरोध गर्दै आएको छ । राप्रपाले एमसीसीको विरुद्धमा विरोध कार्यक्रम गर्दै आएको छ । नेपाल मजदुर किसान पार्टी पनि एमसीसीको विपक्षमा रहेको छ । प्रतिनिधिसभामा एक जना मात्र सांसद रहेको मजदुर किसान पार्टीले सुरु देखि नै एमसीसीको विरोध गर्दै आएको छ ।

सरकारलाई समर्थन दिएको तर मन्त्रिपरिषद्मा सहभागी नबनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मात्र एउटा यस्तो दल हो जसले स्पष्ट रुपमा एमसीसी अनुमोदन गर्न सघाउने निर्णय गरेको छ । ‘एमसीसी अनुमोदन गर्ने निर्णय हाम्रो पार्टीले गरेको छ । हामी एमसीसीको पक्षमा छौं,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने ।