हङकङमा कोभिडको पाँचौ लहरः संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त

हङकङमा कोभिडको पाँचौ लहरः संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त



हङकङ । कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ । १० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन् ।

हङकङमा अहिले कोभिडको पाँचौ लहर चलेको छ । संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन् । बुधबार मात्र ४ हजार २८५ नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घन्टामा कोभिडका कारण एक तीन वर्षीया बालिकासहित नौ जनाको मृत्यु भएको छ । विज्ञहरुले हङकङमा दैनिक संक्रमितको संख्या २८ हजारसम्म पुग्ने सावधानी दर्शाएका छन् ।

एउटा दुर्लभ हस्तक्षेपमा चिनियाँ राष्ट्रपति सी जिनपिङले संक्रमण नियन्त्रणका लागि आवश्यक सम्पूर्ण उपाय चाल्न हङकङका स्थानीय नेतालाई अनुरोध गरेका छन् ।

जिनपिङको टिप्पणी चीनको विशेष प्रशासनिक क्षेत्रमा कठोर नियन्त्रणको संकेत गरेको छ । सामूहिक परीक्षण र लकडाउन बिना नै हङकङ सरकारले चीनमा जस्तै शून्य कोभिड नीति लगाउने तयारी गरेको छ । महामारी सुरु भएपछि अहिलेसम्म २६ हजार संक्रमित भएका छन् भने २०० जनाको मृत्यु भएको छ ।