सत्ता गठबन्धनः माओवादी सरकारबाट बाहिरिन तयार, अन्य दलले के गर्लान् ?

सत्ता गठबन्धनः माओवादी सरकारबाट बाहिरिन तयार, अन्य दलले के गर्लान् ?



काठमाडौं । प्रतिनिधिसभा बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बसिरहेकाे छ । त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको छ ।

प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए । नेताहरूले गठबन्धनको बैठकमा प्रस्तुत हुने धारणाबारे छलफल गरे । माओवादीले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निस्कर्ष निकालेको छ भने एकीकृत समाजवादीले शनिबार मात्र निर्णय गर्ने भएको छ । शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ ।

जसपाले ठोस निर्णय लिन सकेको छैन । अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन् । एमसिसीले दिएको समयसीमा सकिन १० दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा तीव्र दबाबमा छन् । गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिहेका छन् । प्रधानमन्त्री देउवाले बिहीबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । यसअघि नै एमसिसीको विरोध गरेको सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चा भने सडक आन्दोलनमा छ ।