गठबन्धनकै समर्थनमा एमसीसी अनुमोदन हुन्छ: कांग्रेस नेता केसी

गठबन्धनकै समर्थनमा एमसीसी अनुमोदन हुन्छ: कांग्रेस नेता केसी



काठमाडौं । सत्तारुढ गठबन्धनमा सहमति नजुट्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) शुक्रबार प्रतिनिधिसभा बैठकमा पेस हुन सकेन । सरकारले संसद बैठकमा पेस गर्ने तयारी गरे पनि गठबन्धनमा आवद्ध दलबीच सहमति जुट्न नसक्दा सरकार पछि हटेको छ ।

रकारको नेतृत्व गरिरहेको गठबन्धनको प्रमुख दल कांग्रेस एमसीसी संसद बैठकमा पेस गर्ने पक्षमा भए पनि अन्य दलको साथ पाउन सकेको छैन । गठबन्धनको जोगाउँदै एमसीसी पनि संसदमा पेस गर्ने तयारी कांग्रेसको छ । जस कारण कांग्रेसले गठबन्धन बैठकलाई निरन्तरता दिएको छ ।

कांग्रेस गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको कांग्रेस नेता अर्जुननरसिंह केसीले बताए । उनले गठबन्धनकै समर्थनमा एमसीसी सम्झौता प्रस्ताव अनुमोदन हुनुपर्ने र गठबन्धन पनि कायमै रहनुपर्ने बताए । ‘जुन प्रतिबद्धताको साथ चुनावसम्मै कायम रहनेगरी गठबन्धन बनेको हो, त्यो प्रतिबद्धता पूरा गर्नुपर्छ । जनतालाई धोका दिन पाइँदैन,’ नेता केसीले भने ।

गठबन्धनआवद्ध दलबीच सहमति नभए एमालेसँग कांग्रेसले सहकार्य गर्न सक्ने आशय उनको छ । एमालेसँग सहकार्य हुन सक्ने संकेत गर्दै नेता केसीले भने, ‘राजनीति परिर्वतन र सम्भावनाको खेल हो । अन्य दलसँग पनि सहकार्य नहोला भन्न सकिँदैन । तर, त्योभन्दा पहिला गठबन्धन एउटा निर्णयमा पुग्नुपर्छ ।’

गत मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकले बुधबार बस्ने संसद बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको थियो । तर, गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस)ले साथ नदिँदा पुनर्विचारको लागि भन्दै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका थिए । त्यसपछि लगातार दुई दिन बसेको सत्तारुढ गठबन्धनको बैठकले निचोड निकाल्न सकेको छैन । गठबन्धनको बैठक फेरि आइतबार बस्दै छ ।

एमसीसीको मुद्दा चरमोत्कर्षमा पुगेसँगै राजनीति गिजोलिएको छ । राजनीतिक विश्लेषकहरुले सत्ता गठबन्धन फुट्नेदेखि सरकार ढल्नेसम्मको भविष्यवाणी गर्न थालेका छन् । तर, गठबन्धन विघटन र सरकार ढले पनि कांग्रेसले एमसीसी सदनमा पेस गर्न डराउन नहुने राजनीतिक विश्लेषक लोकराज बराल सुझाव दिन्छन् ।