संसदमा एमसीसी टेबुल

संसदमा एमसीसी टेबुल



काठमाडौं । प्रतिनिधि सभा बैठकमा आइतबार नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता टेबुल भएको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी प्रस्तुत गरेका हुन। कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तुत गर्ने उल्लेख भए पनि सञ्चार मन्त्री कार्कीले टेबुल गरेका हुन ।

राजनीतिक दलहरुबीच सहमति नहुँदा एमसीसी प्रतिनिधि सभामा दर्ता भए पनि प्रवेश पाएको थिएन । प्रस्ताव टेबुल गर्दै मन्त्री कार्कीले पूर्ववर्ती केपी शर्मा ओली सरकारले संसदमा दर्ता गरेको र सरकार अविच्छिन्न उत्तराधिकारी भएकाले संसदमा प्रस्तुत गरेको जानकारीसमेत दिए ।

सत्ता गठबन्धनका दलहरुबीच एमसीसी टेबुल गर्ने सहमति भए पनि अर्थमन्त्रीले संसदमा प्रस्तुत गरिरहँदा सत्तारुढ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले नाराबारी गरेका थिए । आजको बैठकमा लोक सेवा आयोग विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल भएको छ भने राष्ट्रिय समावेशी आयोगको तेस्रो बार्षिक प्रतिवेदन आ.व. २०७७/०७८ पेस गरिएको छ ।