गठबन्धन तोडेरै भए पनि सहमति खोजौं

गठबन्धन तोडेरै भए पनि सहमति खोजौं



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारविरुद्ध तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सात महिना अघि बनेको पाँच दलीय गठबन्धन अन्ततः अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेशन अर्थात् एमसीसी स्वीकार गर्ने कि नगर्ने भन्ने विवादसँगै टुट्ने अवस्थामा पुगेको छ । राजनीतिमा गठबन्धनको निर्माण र विघटन स्वभाविक प्रकृया हो । राष्ट्रिय मुद्दा र एजेण्डाका आधारमा गठबन्धन बन्नु र भत्कनुलाई सामान्यरुपमा लिनुपर्दछ । लोकतन्त्रमा जनता नै जनार्दन भएकाले समग्र राजनीतिको सु–संचालनमा नेताहरुको भूमिकाको मूल्यांकन भने चुनावमा मतदानमार्फत् अभिव्यक्त हुने गर्दछ ।

सात महिना सरकार चलाउँदा गठबन्धन सरकारले देश, जनता र लोकतन्त्रका पक्षमा के ग¥यो या गरेन भन्ने कुराको मुल्यांकन आम चुनावमार्फत् आउने परिणामले देखाउने नै छ । राजनीतिक दलको नेताका रुपमा राष्ट्रिय मुद्दामा कुन नेताले कस्तो अडान लिए या अलमल र द्वेध चरित्र प्रदर्शन गरे भन्ने कुराको लेखाजोखा जनताले गरेकै हुन्छन । लोकतन्त्रमा नेताको पब्लिक अडिट हुने कुरा नै सास्वत सत्य हो । विशुद्ध विकास सहयोगका नाममा भइरहेको भद्दा राजनीति र मुर्धन्य नेताले देखाएको दोहोरो चरित्र कसैका सामु छिपेको छैन । आफैले गरेको बाचा तोडेर मुलुकको विश्वसनीयतामाथि नै आँच आउने गरी भएका गतिविधिले नेताको स्तर त प्रष्ट हुन्छ नै त्यसलाई जनताले गर्ने दण्ड र पुरस्कारको भागिदार पनि उ स्वयम बन्ने गर्दछ ।

एमसीसी प्रकरणमा खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खेलेको भूमिकाबारे अहिले विभिन्न खालका टिकाटिप्पणी सार्वजनिक भइरहेका छन । त्यसले दाहालको राजनीतिक जीवनमा ल्याउने उतार–चढाव पक्कै सहज हुने छैन । सत्ता गठबन्धनको प्रमुख नेताले सदनमा एमसीसी पेश गर्न सहमति पनि दिने अनि सडकमा कार्यकर्ता ओरालेर विरोध प्रदर्शन गर्न लगाउने दोहोरो चरित्र प्रदर्शन गर्नु गैरजिम्मेवारिको पराकाष्ठा नै हो । यस्तो द्वेध चरित्रलाई अब राजनीतिक छलाङको आवरण दिएर गरिने ब्याख्यालाई कसैले पचाउने छैनन । बालुवाटारमा एउटा र खुमलटारमा अर्को कुरा गरेर पुष्पकमल दाहाल (प्रचण्ड) ले दोहोरो चरित्र प्रदर्शन गरेको भन्ने आरोपलाई सहजै नजरअन्दाज गर्न सकिदैन । सत्तामा पनि बस्ने अनि सरकारले नै पेश गरेको प्रस्तावको विरोधमा उत्रने तिकडम र छलकपटपूर्ण व्यवहारले गठबन्धनको डोरी बलियो बन्दैन ।

मुलुकलाई भूराजनीतिको भुमरिमा पारेर जनताको आँखामा छारो हाल्ने र भोटको राजनीतिको भद्दारुप प्रदर्शन गर्ने क्रियाकलाप गैरराजनीतिक मात्र होइन राष्ट्रघाती पनि हो । दोषजति अर्कालाई थोपरेर आफू पानीमाथिको ओभानो बन्न खोज्ने नेताको सक्कली अनुहार जनताले पहिचान गरिरहेकै छन् । एक्काइसौ शदाब्दिमा सुचना प्रविधिको भरपुर प्रयोगवाट सुसुचित जनतालाई झुक्याउँछु र राज गर्छु भन्ने द्विवास्वप्ना अब कसैले नदेखे पनि हुन्छ । देशभित्र जनताले नपत्याउने र अन्तर्राष्ट्रियस्तरमा विश्वास गुमाउँदै जान थालेपछि जतिसुकै ठूलो राजनेताको छवि निर्माण भएको भए पनि त्यो धुलिसात हुने निश्चित छ । राजनीतिक बेइमानी र दोहोरो चरित्रको प्रदर्शन पटक पटक गरिरहने नेता कसरी राजनेता कहलाउँन सक्छ र ?

एमसीसी प्रकरणलाई लिएर भइरहेको भद्दा राजनीति अबचाहि अति भइसक्यो । या त यसलाई टुगोंमा पुर्याउन गठबन्धन तोडेरै भए पनि सहमतिको खोजी गरौं । नभए ताजा जनादेशका लागि जनताका बीचमा जाउँ । मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउने र राजनीतिक नाफा–घाटाको जोड घटाउमा अलमल गरिरहने सुविधा कसैले पाउँनु हुदैन ।