एमाले नेतासँग भेटेपछि गगन थापाले भने- एमसीसीकै कारण गठबन्धन धरापमा पर्‍यो, जुनसुकै बेला फुट्न सक्छ

एमाले नेतासँग भेटेपछि गगन थापाले भने- एमसीसीकै कारण गठबन्धन धरापमा पर्‍यो, जुनसुकै बेला फुट्न सक्छ



काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले एमसीसीका कारण सत्तारुढ गठबन्धन धरापमा परेको र जुनसुकै बेला फुट्न सक्ने बताएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका अध्यक्ष केपी ओलीको कार्यकक्षमा बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको भेटवार्तापछि महामन्त्री थापाले एमसीसी सदनबाट अनुमोदन गर्ने विषयले गठबन्धन धरापमा परेको बताएका हुन् ।

एमसीसीका विषयमा गठबन्धनभित्र सहमति नपुग्ने निष्कर्षमा पुगेको भन्दै उनले भने, ‘एमसीसीमा गठबन्धनको दलहरू एक ठाउँमा उभिन नसक्ने भएपछि थप छलफल गरिराख्नु परेन । जस कारण गठबन्धन धरापमा परिसक्यो ।’

सो छलफलमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा र एमाले संसदीय दलका नेता तथा अध्यक्ष ओली, उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए ।

सो बैठकमा प्रधानमन्त्री देउवाले संसदको गतिरोध अन्त्य गर्न, एमसीसी अनुमोदन गर्न सहयोग गर्न एमाले नेतासँग आग्रह गरेका महामन्त्री थापाले जानकारी दिए । बिहीबार साँझ प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने कार्यक्रम रहेको उनले जानकारी दिए ।